काठमाडौं । नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतवार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो ।
बैठकले भदौ १६ देखि नियमिति उडान हुने हुदाँ वायुसेवा कम्पनीहरुले कोभिड १९ को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडादरभन्दा बढी नलिन वायुृसेवा संचालकहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्ड्यन प्राधिकरण मार्फत वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय गरेका छ ।
त्यस्तै, नेपालीहरु स्वदेश फिर्तीलगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ । समितिको सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन ।
समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्ने, होटल एसोसिएसन लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेशी फिर्ता प्रकृयासँग जोडिएको गुनासो ब्यवस्थापन गर्ने कार्यादेश तोकिएका छ ।
यस्तै, बैठकले हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेका छ ।
बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको बार्षिक कार्ययोजनामा समावेश गरिएका माईलस्टोनहरुलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए ।