कोरोना महामारीमा बीमा व्यवसायः साउनमै बढ्यो जीवन १७ प्रतिशत र निर्जीवन ३७ प्रतिशत

<p>काठमाडौ । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ । बीमा समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तको तुलनामा चालु आर्थिक वर्षको साउनमा जीवन बीमालेख १७.२० प्रतिशतले बढेको छ । यस्तै, निर्जीवन बीमालेख भने ३७.३२ प्रतिशतले बढेको [&hellip;]</p>

काठमाडौ । कोरोना भाइरस (कोभिड १९) संक्रमण सन्त्रासकै बीच पनि बीमा व्यवसाय गर्न गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षमा बढेको छ ।

बीमा समितिले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तको तुलनामा चालु आर्थिक वर्षको साउनमा जीवन बीमालेख १७.२० प्रतिशतले बढेको छ । यस्तै, निर्जीवन बीमालेख भने ३७.३२ प्रतिशतले बढेको छ ।

समितिका अनुसार गत आर्थिक वर्षको साउन महिनामा ६० लाख २४ हजार बीमालेख विक्री भएका थिए । चालु आर्थिक वर्षको साउन महिनामा ७० लाख ६१ हजार रुपैयाँ बीमालेख विक्री भएका छन् ।

जीवन बीमा शुल्क घट्यो

बीमा लेखको संख्यामा बृद्धि भएपनि बीमा शुल्क भने घटेको छ । गत आर्थिक वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको सोही महिनामा ३.५६ प्रतिशतले बीमा शुल्क घटेको हो । गत आर्थिक वर्षको साउनमा १० अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भने जीवन बीमा कम्पनीले १० अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

घट्यो वैदेशिक रोजगार बीमालेख

आर्थिक वर्ष २०७६/७७ को साउन मसान्तमा वैदेशिक रोजगार बीमालेख संख्या १३ लाख ५३ हजार रहेको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा भने सो संख्या ८ लाख ६० हजार पुगेको छ । वैदेशिक रोजगार बीमालेख संख्यका आधारमा १०.८५ प्रतिशतले घट्न पुगेको छ ।

निर्जीवन बीमालेख ३७ प्रतिशतले बढ्यो

निर्जीवन बीमातर्फ गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा ३७.३२ प्रतिशतले बढ्न पुगेको छ ।

अघिल्लो आर्थिक वर्षका साउन महिनाको अन्त्यमा १ लाख ७५ हजार बीमालेख थिए । चालु आर्थिक वर्षको साउन मसान्तमा भने बीमा लेखको संख्या २ लाख ४१ हजार छ ।

निर्जीवन बीमाशुल्क ११ प्रतिशतले बढ्यो

निर्जीवन बीमातर्फको बीमाशुल्क १०.८९ प्रतिशतले बढ्न पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको निर्जीवन बीमा शुल्क चालु आर्थिक वर्षको सोही महिनामा २ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

बीमाको दायरा बढ्यो

गत आर्थिक वर्षको साउन महिनामा बीमाको दायरामा आएको जनसंख्याको ०.१९ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षको सोही समयमा ०.२१ प्रतिशत रहेको छ ।

बीमा कम्पनीहरुको संजाल पनि बढ्यो

बीमा कम्पनीहरुको कार्यालय संख्यामा १०.३५ प्रतिशतले बढेको छ । गत अर्थिक वर्षको साउन मसान्तमा २ हजार ५ सय १२ रहेको कार्यालय संख्यामा वृद्धि भइ चालु आर्थिक वर्षको साउन मसान्तमा २ हजार ७ सय ७२ पुगेको छ ।

८ प्रतिशतले बढ्यो रोजगारी

बीमा कम्पनीहरुको कर्मचारी संख्या ८.१० प्रतिशतले बढ्न पुगेको छ । गत आर्थिक वर्षको साउन मसान्तमा कर्मचारीहरुको संख्या ९ हजार ३ सय ७० रहेको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा सो संख्यामा वृद्धि भई १० हजार १ सय २९ पुगेको छ ।

बीमा समितिले उपलब्ध गराएको यस तथ्याङ्कमा राष्ट्रिय बीमा कम्पनीको विवरण समावेश गरिएको छैन ।

Share News