काठमाडौं । साढे ५ महिना भयो ठमेल ठप्प बनेको । कुनै दिन युरोपको उपमा दिइने ठमेल अहिले सुनसान तथा शून्यप्रायः छ । मानिसको आवत–जावत छैन । व्यापारीका सटर बन्दै नै छैन् । पर्यटकको पखाईमा बस्ने रिक्सावाला र ट्याक्सीवाला आजभोली विरलै भेटिन्छन् ।
साँझ पर्यो कि मन्त्रमुग्ध पार्ने केही धुनहरु बज्न छोडेका छन् । ठमेल मात्र होइन विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण देशका सम्पूर्ण गतिविधि नै ठप्प छन् ।
उद्योग, कलकारखाना, स्कुल कलेज तथा विश्वविद्यालय, सिनेमा हलहरु करिब ६ महिना जति भयो बन्द नै छन् । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन खुकुलो भएपछि केही शुरु भएको चहलपहल फेरि गरिएकोे निषेधाज्ञाले पुनः ठप्प नै बनेको छ ।
एउटा रिक्सावाला अर्थात चिया पकाएर बेच्ने मान्छेदेखि ठूलो व्यापार व्यवसाय सम्हाल्ने मान्छेको भविश्य जोडिएको छ ठमेलसँग । तर, त्यही ठमेल अहिले सुनसान बन्दा धेरेको रोजिरोटी गुमेको छ भने कयौंले अर्बौं नोक्सान ब्यहोर्नु परेको छ ।
ठमेलमा नुनदेखि सुनसम्म पाइन्छ । विविधताको खानी भएको ठमेल बन्द हुँदा धेरैले भोकै बस्नु परेको तितो यथार्थता छ । ठमेलमा रिक्सा चलाउनेदेखि ठूला–ठूला व्यापार व्यवसाय गर्नेहरु पर्यटकको पखाईमा छन् ।
कोरोना कहर कहिले अन्त्य होला र स्वतन्त्र रुपले कहिले व्यापार व्यवसाय गर्न पाइएला भन्ने अपेक्षमा धेरै व्यवसायीहरु छन् । तर, त्यो अपेक्षा भने कोरोनाकै भरमा छन् ।
विगत ५÷६ महिनादेखि बन्द गर्नु परेको व्यापार व्यवसायले अर्बो रुपैयाँ नोक्सान व्यहोर्नु परेको ठमेलका व्यवसायीहरुले गुनासो गरेका छन् । व्यापार नहुँदा पनि तिर्नु परेको घरभाडा, बिजुली शुल्क र पहिले हुने गरेको कारोबार अहिले नभएपछि धेरै आर्थिक क्षति व्यहोर्नु परेको उनीहरुले गुनासो गरेका हुन् ।
ठमेलमा सामान्य पसलहरुदेखि ट्राभल एजेन्सी, ट्रेकिङ्ग, रेष्टुरेन्ट, नाइट क्लब, वायुसेवा, होटल क्षेत्र, यातायातका टिकट काट्ने र पाँचतारेसम्मका होटलहरु पनि छन् । यी सबैले ब्यापार व्यासायले सामान्य अवस्थामा दैनिक करोडौंको कारोबार गर्थे । तर अहिले त्यो सबै व्यापार तथा कारोबार व्यवसायीहरुले गुमाउनु परेको छ भने उल्टै व्यर्थैमा घरधनीलाई मासिक लाखौं भाडा तिर्नु पर्ने बाध्यता उनीहरुमा छ ।
४० अर्बभन्दा घाटा
ठमेल क्षेत्रमा करिब १० हजार व्यवसायीहरु छन् भने उनीहरुबाट भाडा लिने २ हजार २ सय जति घरधनीहरु छन् । ती सबै १० हजार व्यवसायीहरु अहिले ठूलो आर्थिक जोखिममा छन् ।
ती व्यवसायीहरुले एउटा समिति नै गठन गरेर आफ्ना समस्या समाधानका लागि पहल गरिरहेका छन् । समितिका संयोजक हुन् भविश्वर शर्मा । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष समेत रहेका शर्मा अहिले घर भाडा समायोजन समितिका संयोज बनेका छन् ।
शर्मा नेतृत्वको समितिले अहिले ठमेल क्षेत्रका समस्या र समाधानका उपायका बारेमा अध्ययन पनि गरिरहेका छ । सो समितिले ठमेलका व्यवसायीले अर्बौं रुपैयाँ घाटा व्यहोर्नु परेको तथ्याकं निकालेको छ । पकञ्जोल, कालधारा, धोवीचौर र नरदेवी लगायतका ठाउँहरुमा फैलिएको ठमेल र ठमेलका व्यवसायीले चैतमा लकडाउन भएदेखि ४० अर्बभन्दा बढी घाटा व्यहोर्नु परेको तथ्याकं सो समितिले निकालेको छ ।
ठमलेमा १५ हजारदेखि ४३ लाख रुपैयाँसम्म भाडा तिरेर व्यवसायी व्यापार व्यवसाय गर्दै आएको समितिको अध्ययनले देखाएको छ । एउटा व्यवसायीले १५ हजार रुपैयाँदेखि ४३ लाख रुपैयाँसम्म भाडा तिर्ने गरेको समितिको अध्ययनले देखाएको छ । त्यसको हिसाब गर्दा एउटा व्यवसायीको भागमा औसत ८० हजार रुपैयाँ पर्न जाने उनी बताउँछन् ।
१० हजार घरधनीले एक महिनामा ८० हजार रुपैया तिर्यो भने ८० करोड रुपैयाँ भाडा तिर्ने पर्ने हुन्छ । त्यसबाट ५० प्रतिशत नै घरधनीले छुट गरेपनि व्यवसायीले मासिक ४० करोड रुपैयाँ तिर्नु पर्नेहुन्छ ।
यसरी हेर्दा व्यवसायीहरुले ५ महिनामा २ अर्ब रुपैयाँ घरभाडा तिरिसकेका छन् । जुन व्यापार नगरेर नै व्यवसायीले सो भाडा तिर्नु परेको हो ।
त्यस्तै, सामान्य अवस्थामा ठमेलका व्यवसायीले सिजनमा ३० देखि ३५ करोड र अफसिजनमा १८ देखि २० करोड रुपैयाँ दैनिक कारोबार हुँदै गर्दै आएको शर्मा बताउँछन् । तर, अहिले त्यो सबै गुमाउनु पर्ने बाध्यतामा व्यवसायी छन् ।
बैंकबाट भएको ट्रान्जेक्सनलाई आधार मानेर यो तथ्याकं निकालेको उनको भनाई छ । यसमा १८ करोडदेखि ३५ करोड रुपैयाँको बीचको अंक २५ करोड रुपैयाँलाई कारोबार संख्या मानेर हेर्दा पनि ठमेलका व्यवसायीले मासिक ७ अर्ब ५० करोड रुपैयाँ कारोबार गर्थे ।
त्यो कारोबार विगत साढे ५ महिनादेखि बन्द अवस्थामा छ । ५ महिनाकै कारोबारलाई लिने हो भने पनि ३७ अर्ब ५० करोड रुपैयाँ कारोबार उनीहरुको हुन पाएको छैन । जुन व्यवसायीहरुका लागि प्रत्यक्ष घाटा हो ।

फाइल फाेटाे
यसरी हेर्दा ५ महिनादेखि हुन नसकेको कारोबार र व्यर्थैमा तिर्नु परेको २ अर्ब रुपैयाँ घरभाडा जोड्दा करिब ४० अर्ब रुपैयाँ घाटा उनीहरुको भएको छ । त्यसमा उनीहरुले विद्युत महसुल र कर्मचारीहरुलाई तलब पनि दिनु पर्ने बाध्यता छ ।
८० हजार बेरोजगार
शर्मा नेतृत्वको समितिले गरेको अध्ययनका अनुसार ठमेल क्षेत्रमा अहिले करिब ८० हजार मानिसले रोजगारी गुमाएका छन् । शर्माका अनुसार ठमेलमा रहेका विभिन्न किसिमका व्यापार व्यवसायमा संलग्न ८० हजार मानिस अहिले बेरोजगार भएर बस्नु पर्ने बाध्यता आएको छ ।
‘ठमेल क्षेत्रमा रहेका १० हजार व्यवसायीमा ८० हजार कर्मचारी थिए, त्यसमा २० प्रतिशत इन्डस्ट्रियल र ८० प्रतिशत स्वरोजगार व्यवसायी हुन्,अहिले यी सबै बेरोजगार भएका छन्,’ शर्माले भने ।
यसले ३० हजार जनालाई असर दिएको उनको भनाई छ । अध्ययन गर्दै जाँदा प्रत्यक्ष व्यवसायी र ठमेललाई नै संकट पर्न गएको उनले बताए ।
उनका अनुसार ठमेलमा खासगरी कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकला, रेस्टुरेन्ट, पर्यटकीय स्तरका होटल, तारे होटल लगायतका व्यवसायहरुमा काम गर्ने कर्मचारीहरु अहलिे बेरोजगार भएर बस्नु पर्ने बाध्यता भएको ।
७ सय व्यवसायी पलायन
कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने क्रम पनि बढ्दै गएको छ । शर्माका अनुसार हालसम्म ७ सयभन्दा बढीले ठमेल छोडिसकेका छन् ।
शर्माले गत चैत यता व्यवसाय पूर्ण रुपमा बन्द भएपछि अहिले व्यवसायीहरुलाई घरभाडा तिर्न गाह्रो भएको र धमाधम सटर छोड्दै गइरहेको बताए ।

फाइल फाेटाे
अन्य ठाउँभन्दा ठमेल क्षेत्रमा घरभाडा महँगो भएको र लामो समय व्यापार ठप्प भएपछि अहिले घरभाडा बुझाउन, कर्मचारीलाई तलब दिन समस्या भएको उनी बताउँछन् ।
ठमेल भित्र रहेका अधिकांश घरभेटीले ३० देखि ७० प्रतिशत सम्म घरभाडा छुट दिएपनि केही घरबेटीले घरभाडा समायोजन नगरिदिदा त्यस्ता व्यवसायीहरु विस्थापित हुनु परेको उनको भनाई छ ।
गोदाम अनुसारकै भाडा लिन आग्रह
व्यवसायीहरुले अहिले कारोबार तथा व्यापार व्यवसाय नहुँदा घरघाडा गोदामै अनुसार लिन आग्रह गरेका छन् । अहिले व्यापार व्यवसाय नभएकोले घरधनीले पनि गोदमकै अनुसार भाडा लिनु पर्ने धेरै आग्रह व्यवसायीले गरेका हुन् ।
कोरोना भाइरस कम नभएसम्म पसलको भाडा गोदम सरह नै लिन उनीहरुले आवाज उठाइरहेका छन् । व्यवसायीहरुले गोदाम अनुसारकै भाडा नलिए अन्यउत्र सर्नु पर्ने बाध्यता हुन सक्ने पनि बताएका छन् ।
सम्बन्धित सामग्री:
ठमेलका व्यवसायीले घरधनीलाई फकाएरै छोडे, घरबेटीले गरे भाडा छुटको घोषणा
ठमेलका घरधनी दिलदार, १ वर्षसम्म घर भाडामा ५० प्रतिशत छुट
सुनसान ठमेल !