काठमाडौं । नेपालको इतिहासकै पहिलो इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी स्थापनाको ७३ वर्ष पुगेको छ । कम्पनीको ७३ औं वार्षिकोत्सव समारोह आश्विन ८ गते बिहीबार कम्पनीको, प्रधान कार्यालय कमलादीमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेलको आतिथ्यमा सम्पन्न भएको हो ।
सो अवसरमा कम्पनीले आगामी दिनमा थप उत्कृष्ट सेवा दिन तत्पर रहने प्रतिवद्धता जनाएको छ ।
इन्स्योरेन्सको ७३औं वार्षिकोत्सव समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले नेपालको पहिलो बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीको स्थापनाकालदेखि नै ग्राहकहरुको भरपर्दो र विश्वासिलो बीमा कम्पनीको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बताए ।
साथै, नविनतम प्रविधिको प्रयोग गरी कम्पनीको शाखा संजाललाई विस्तार गर्दै आएको र कम्पनीको यस अनवरत यात्रामा सम्पूर्ण बीमित, कर्मचारीहरु, लगानीकर्ता, बीमा समिति तथा अन्य नियामक निकाय, बैंक तथा वित्तिय संस्थाहरु, पुनर्बीमा कम्पनीहरु, सर्भेयरहरु, अभिकर्ताहरु, ब्रोकर तथा आम नागरिकहरुबाट आगामी दिनहरुमा अझ बढी सहयोग, विश्वास र प्रेरणा प्राप्त हुने कुरामा विश्वस्त रही हालसम्म प्राप्त सहयोगका लागि सम्बन्धित सबैमा आभार प्रकट गरेका छन् ।
कम्पनीले हाल प्रधान कार्यालय तथा देशका प्रमुख स्थानहरुमा रहेका ५० वटा शाखा कार्यालयहरु र इटहरी, कावासोती र एकान्तकुना सहित ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्र समेत गरी जम्मा ५४ स्थानहरु बाट बीमा सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष ०७६/०७७ मा कम्पनीले एक अर्ब १७ करोड ७८ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गर्नुका साथै २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यसै अवसरमा इन्स्योरेन्सले आफ्नो जिवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गरेको छ ।