काठमाडौ । साउनको तुलनामा गत भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क ६२ करोड रुपैयाँले घटेको छ ।
गत साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । भदौ महिनामा भने २ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको बीमा समितिले जानकारी दिएको छ ।
भदौ महिनामा २९ करोड बीमा शुल्क संकलन गरेर शिखर इन्स्योरेन्स कम्पनी अग्र स्थानमा रहेको छ । साउनमा शिखरले २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
भदौ महिनामा सगरमाथा इन्स्यारेन्स कम्पनीले १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत साउन महिनामा भने ३० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेर सगरमाथा इन्स्योरेन्स कम्पनी अग्र स्थानमा थियो ।
भदौ महिनामा सिद्धार्थ इन्स्यारेन्स कम्पनीले १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सिद्धार्थले गत साउनमा २३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
भदौ महिनामा नेको इन्स्यारेसन्स कम्पनीले १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउनमा सो कम्पनीले २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।
एनएलजी इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो कम्पनीले साउन महिनामा १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बिमक संघका सचिव चंकी क्षेत्रीका अनुसार कोरोना महामारीका कारण निर्जीवन बीमा क्षेत्रको बीमा शुल्कमा प्रभाव देखिएको होे ।
‘बीमा कम्पनीहरुले कोरोना महामारीको कारण भएको लकडाउनका लागि यातायात बीमा शुल्कलगायत विभिन्न किसिमका छुटहरु प्रदान गरेका थिए, त्यही डिस्काउन्ट तथा बीमा कम्पनीहरुमा कोरोना महामारीले पारेका अन्य प्रभावहरु तथ्यांकले देखाएको हो, विश्वव्यापी रुपमा कोरोना महामारीको प्रभाव देखिएको बेला नेपाली बीमा क्षेत्रमा त्यसको असर देखियो’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।