टिभी, दराज, टेबल, कम्युटर, फोन फुटे वा आगलागी भए क्षतिपूर्ति पाइने गरी बीमा गर्न मिल्छ ? कति लाग्छ शुल्क ?

<p>काठमाडौं । टिभी, दराज, टेबल, कम्प्युटर, ल्यापटप, मोबाइल फोन वा यस्तै सामान आगामी, भुकम्प वा अन्य कुनै कारणबाट टुटफुट वा आगलागीमा परी क्षति भएमा के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने विकल्प छ । कामै नलाग्ने गरी फुटेको, आगलागीमा परी जलेको वा नास भएको सामानको क्षतिपूर्ति पाइने गरी बीमा गर्न पाइने भएकोले यसको विकल्प देखिएको हो [&hellip;]</p>

काठमाडौं । टिभी, दराज, टेबल, कम्प्युटर, ल्यापटप, मोबाइल फोन वा यस्तै सामान आगामी, भुकम्प वा अन्य कुनै कारणबाट टुटफुट वा आगलागीमा परी क्षति भएमा के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने विकल्प छ ।

कामै नलाग्ने गरी फुटेको, आगलागीमा परी जलेको वा नास भएको सामानको क्षतिपूर्ति पाइने गरी बीमा गर्न पाइने भएकोले यसको विकल्प देखिएको हो । घरायसी तथा विद्युतीय सामाग्रीको बीमा गर्न पाइने व्यवस्था अहिले पनि कार्यान्वयनमा छ । अधिकांश बीमा कम्पनीहरुले यस्तो बीमा गराइरहेका पनि छन् ।

घरायसी सामानको बीमा गर्दा बीमा शुल्क धेरै बुझाउनु पर्दैन । यस्तै, घरायसी सामानहरुको बीमा प्याकेजमा समेत उपलब्ध हुन्छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले घरायसी सामानको बीमा गर्दा प्राकृतिक जोखिममा र अन्य विपत्तीबाट भएको क्षतिको क्षतिपूर्ति पाइने भएकोले यसको महत्व धेरै रहने बताए ।

‘हाउसहोल्ड पोलिसीबाट यस्ता वस्तु तथा उपकरणहरुको बीमा गर्न मिल्छ, घरलगायत घर तथा सम्पत्तीको बीमा एकै पटकमा गर्न मिल्छ, तर त्यसरी बीमा गराउदा आफ्नो सामानको विवरण भने स्पष्ट तरिकाले पेश गर्नुपर्छ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले विकासन्युजसंग भने ।

हरेक घरहरुमा विभिन्न किसिमका जोखिम हुने भएकाले हाउसहोल्ड बीमाले सबैलाई साथ दिने उनले बताए ।

नयाँ स्मार्ट टिभीको पनि बीमा गर्न सकिन्छ भने पुरानो टिभीको पनि बीमा हुन्छ । सम्पत्तीको भ्यालुयसन अनुसार बिमांक तोकिन्छ ।

फाल्ने बेलामा पुगेकाबाहेक अन्य सामानहरुको भने बीमा गर्न मिल्ने बीमा कम्पनी बताउछन् ।

यस्तो अवस्थामा पाइन्छ दाबी भुक्तानी

बाढी, पहिरो, भुइचालो, आगलागी जस्ता प्राकृतिक विपतहरुका कारण टिभी, मोवाइल, कम्प्युटर जस्ता घरायसी सामाग्रीहरुमा क्षति पुगेमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइन्छ । यस्तै, बीमा गरिएका सामान चोरी भएको अवस्थामा पनि बीमा दाबी गर्न पाइन्छ ।

कति लाग्छ बीमा शुल्क ?

हाउसहोल्ड पोलिसीबाट बीमा गराउँदा १ लाखको २ सय रुपैयाँका दरले बीमा गराउन सकिन्छ । यो बीमा पोलिसीले अग्नि, भुकम्प तथा हावाहुरीबाट हुने जोखिमको बीमा हुनेगर्छ ।

यस्तै, इलेक्ट्रोनिक इक्यूपमेन्ट पोलिसी अनुसार बिजूली सट हुदा, जल्दा विद्युतीय उपकरणहरुको दाबी भुक्तानी लिन सकिन्छ । उक्त इलेक्ट्रोनिक इक्यूपमेन्ट पोलिसी अनुसार सामानको मूल्य अनुसार १ प्रतिशत बीमा शुल्क लाग्छ । अर्थात १ लाख रुपैयाँ मूल्य बराबरको समानको बीमा गराउँदा १ हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ ।

चट्याङ्को कारण इलेक्ट्रोनिक डिभाइसमा क्षति पुगेको अवस्थामा समेत उक्त बीमालेखबाटै दाबी भुक्तानी पाइन्छ ।

Share News