(गजल)
भोक हराएको छैन अझै निद्रा हराएको छैन
तिमीले छोड्दा कत्ति पनि मन दुखाएको छैन।
तिमीलाई दियो सम्झेको थिएँ तर सलाई रहेछौं
तिमीले जस्तो मैले अरुको दिल जलाएको छैन।
हिजो ऊ मेरो छानो उडाउदा खुब रमाएको थियो
आज उसैको घर जल्दाखेरि म रमाएको छैन।
वर्षौ वर्ष भइ सक्यो देशमा शान्ति आएको पनि
तर बा भन्नुहुन्छ,हराएको छोरो अझै आएको छैन।
तपाईं आहा भन्नुहुन्छ शहरको झिलिमिली देखेर
हेर्नुस् त कर्णालीले अझै सिटामोल पाएको छैन।
कसरी बिश्वास गरुँ? एक गाँस दिन्छ भनेर उसले
जो कसौंडी रित्तो पारिसक्दा पनि अघाएको छैन।
झापा -गौरादह