कोरोना बीमा दाबीमा नक्कली पीसीआर रिपोर्ट, फेस आईडी पनि लिइदिन पत्राचार

<p>काठमाडौ । कोरोना बीमा दाबी भुक्तानीमा ढिलाई भएको भनेर सर्वत्र आलोचना भइरहेको बेलामा बीमा समितिले भने नक्कली पीसीआर रिपोर्टले समस्या पारेको बताएको छ । बीमा दाबी भुक्तानी द्रुत रुपमा गर्न चाहेपनि निजी तथा केही सरकारी ल्यावकै पीसीआर रिपोर्ट नक्कली भेटिएको भन्दै समितिले पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको फेस आइडी (अनुहार स्पष्ट देखिने गरी भिडियो तथा [&hellip;]</p>

काठमाडौ । कोरोना बीमा दाबी भुक्तानीमा ढिलाई भएको भनेर सर्वत्र आलोचना भइरहेको बेलामा बीमा समितिले भने नक्कली पीसीआर रिपोर्टले समस्या पारेको बताएको छ ।

बीमा दाबी भुक्तानी द्रुत रुपमा गर्न चाहेपनि निजी तथा केही सरकारी ल्यावकै पीसीआर रिपोर्ट नक्कली भेटिएको भन्दै समितिले पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको फेस आइडी (अनुहार स्पष्ट देखिने गरी भिडियो तथा स्टील फोटो) पनि लिने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।

पछिल्लो समय केही ल्यावबाट पीसीआर गरी कोरोना संक्रमण भएको रिपोर्ट नै नक्कली पाइएको समिति स्रोतले जानकारी दियो । यस्ता शंकास्पद रिपोर्टबारे समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अनुसन्धान भइरहेको जानकारी दियो ।

‘केही ल्यावको पीसीआर रिपोर्ट नक्कली रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ, घरघरमा पुगेर स्वाव संकलन गर्ने र त्यस्तो स्वाव कुन व्यक्तिको हो, कोराना बीमा दाबी गर्ने व्यक्तिलाई नै संक्रमण भएको हो कि होइन भन्ने जस्ता तथ्यमा शंका गर्ने ठाउँ भेटियो, त्यसैले कोरोना संक्रमण परीक्षणको लागि स्वाव संकलन गर्दा ल्यावले नै फेस आइडी पनि लिइदिने र दाबी भुक्तानी गर्ने क्रममा सोही फेस आइडी प्रयोग गर्ने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेका छौं,’ समिति स्रोतले भन्यो ।

अहिले कोरोना बीमा दाबी भुक्तानी लिन कोरोना संक्रमण पुष्टी भएको पीसीआर रिपोर्ट, नागरिकताको फोटोकपी र सम्बन्धित व्यक्तिको फोटो पेश गर्नुपर्छ । यसरी पेश भएकामध्ये केही पीसीआर रिपोर्ट, फोटो तथा नागरिकता समेत नक्कली रहेको दाबी भुक्तानी गर्ने सन्दर्भमा भएको अध्ययनमा फेला परेका छन् ।

बीमा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा पीसीआर रिपोर्ट नक्कली हो कि सक्कली हो भने टेकुको प्रयोगशालाको तथ्यांकसँग भिडान गरिरहेको छ । यसरी भिडान गराउँदा सबै ल्यावको पालैपिलो गरिएको र त्यसैकारण दाबी भुक्तानीमा केही ढिलाई भएको समितिको तर्क छ ।

अघिल्लो साता मात्रै कुनै ल्यावबाट पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको भन्दै बीमा दाबीमा पेश भएकामध्ये करिब ५ सय रिपोर्ट नक्कली पाइएको समिति स्रोतले जानकारी दियो । यसरी नक्कली रिपोर्ट भेटिन थालेपछि थप सतर्कता अपनाइएको समितिको भनाइ छ ।

हालसम्म कोरोना बीमा भुक्तानीका लागि ३३ हजार बीमितको दाबी परेको छ । सो मध्ये ५ हजार बीमितहरुले दाबी भुक्तानी पाइसकेका छन् ।

Share News