काठमाडौं । नयाँ पुनर्बीमा कम्पनीको रुपमा अन्नपूर्ण रिइन्स्योरेन्स कम्पनी आउने चर्चाले बजार तताएको छ । अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीकै संस्थापक सेयरधनी नयाँ कम्पनी स्थापनाको लागि तयार भएका छन् ।
आफै प्रमोटर भएर संचालन भइरहेको नेपाल पुनर्बीमा कम्पनीको विकल्पको रुपमा प्रस्तावित अन्नपूर्ण रिइन्स्योरेन्स कम्पनी ल्याउनको लागि बीमा कम्पनीहरु किन तयार भए भन्ने विषय अहिले चर्चामा छ ।
नेपाल पुनर्बीमा कम्पनीमा सरकारी स्वामित्व पनि रहेको राष्ट्रिय बीमा कम्पनीको ३.८६५ र नेसनल इन्स्योरेन्सको १.३५५ र एनएलजी इन्स्योरेन्स कम्पनीको १.५५५ प्रतिशत सेयर स्वामित्व छ ।
बाँकी निर्जीवन बीमा कम्पनीहरुको सेयर स्वामित्व २.२५८ र आठवटा जीवन बीमा कम्पनी ( सूर्या, नेपाल, एलआइसी, गुराँस, एशियन, प्राइम, नेसनल र राष्ट्रिय बीमा संस्थान) हरुको सेयर स्वामित्व समान १.००३ प्रतिशत छ । हाथव्य इन्भेष्टमेन्ट नेपाल कम्पनीको पनि १.००३ प्रतिशत नै सेयर स्वामित्व छ भने आइएमईको १.६८८, विशल ग्रुपको ४.२२ र ज्ञान सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनीको १.००३ प्रतिशत सेयर स्वामित्व छ । सरकारको ४३.५५ प्रतिशत सेयर स्वामित्व छ ।
बीमा कम्पनीहरु नयाँ पुनर्बीमा कम्पनीप्रति आकर्षित हुनुका पछाडी खास कारण रहेको सरोकारवालाले बताएका छन् । सरकार एक्लैको ४३.५५ प्रतिशत सेयर भएपछि कम्पनीमा सरकारी हस्तक्षेप बढी भएको अन्य सेयरधनीको बुझाइ छ । कम्पनीको अध्यक्ष तथा संचालक नियुक्तिदेखि प्रमुख कार्यकारी अधिकृतको नियुक्तिसम्ममा सरकारले हस्तक्षेप गर्ने गरेको छ ।
कम्पनीमा सरकारी हस्तक्षेप बढ्दा संचालक समिति तथा व्यवस्थापनमा राजनीतिक कार्यकर्ता आउने र त्यसले कम्पनीलाई व्यवसायिक रुपमा अघि बढ्न समस्या सिर्जना गरिरहेको बीमा कम्पनीहरुको बुझाइ छ । आफूहरुको सेयर स्वामित्व निकै कम भएकोले संचालक समितिमा आफूहरुले चाहे अनुसारको असल काम गर्न गराउन पनि नसकिएको कम्पनीहरुको विश्लेषण छ ।
प्रस्तावित नयाँ कम्पनीले पनि बीमा कम्पनीहरुलाई कम्तिमा १० करोड र बढीमा १५ करोड रुपैयाँ संस्थापक सेयर हाल्न प्रस्ताव गरेको छ । प्रस्तावित कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ हुने भनिएको छ । नयाँ कम्पनीमा पनि बीमा कम्पनीहरुले १ देखि १.५ प्रतिशत प्रमोटर सेयर हाल्न लागेका छन्, जुन नेपाल पुनर्बीमा कम्पनीमा भन्दा निर्जीवन बीमा कम्पनीहरुले कम र जीवन बीमा कम्पनीहरुले बढी सेयर पाउन लागेका हुन् ।
तर, नेपाल पुनर्बीमा कम्पनीमा सरकार एक्लैको ४३.५५ प्रतिशत सेयर स्वामित्व छ । अहिले संचालनमा रहेका ३९ वटा बीमा कम्पनीहरुले नै १ प्रतिशतका दरले प्रमोटर सेयर खरिद गरेभने उनीहरुको सेयर स्वामित्व ३९ प्रतिशत नै हुनेछ । प्रस्तावित कम्पनीको अफर अनुसार बीमा कम्पनीहरुले १.५ प्रतिशत सेयर हालेमा उनीहरुको सेयर हिस्सा ५८ प्रतिशतभन्दा बढी हुनेछ । बीमा कम्पनीहरुकै वहुमत सेयर हुने भएकोले नयाँ कम्पनीप्रति बीमा कम्पनीहरु आकर्षित भएका हुन् । नेपाल पुनर्बीमा कम्पनीमा १७ वटा निर्जीवन र ८ वटा जीवन गरी २५ वटा बीमा कम्पनीको सेयर छ ।
नयाँ पुनर्बीमा कम्पनीप्रति बीमा कम्पनीहरु आकर्षित हुनुको अर्काे कारण सरकारले आफूहरुको नाफा जवरजस्ती अर्काको भागमा हालिदियो भन्ने बीमा कम्पनीहरुको बुझाइ पनि हो । सरकारले सबै प्रकारका बीमाको पुनर्बीमा गर्नै पर्ने र कुल पुनर्बीमाको २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीसँग गर्नै पर्ने वाध्यकारी व्यवस्था गरेको छ ।
सरकारले गरेको यस्तो व्यवस्थाले आफूहरुको नाफा घटेको बीमा कम्पनीहरुको बुझाइ छ । बीमा कम्पनीहरुले गर्ने बीमामध्ये जोखिम कम हुने क्षेत्रको रिटेन्सन आफैले राखेर बढी जोखिम हुने व्यवसायको मात्रै पुनर्बीमा गराउने गरेका थिए । तर, अब सबै प्रकारको बीमामा पुनर्बीमा गराउनै पर्ने वाध्यकारी व्यवस्थाले आफूहरुको आम्दानी जवरजस्ती रुपमा अर्काे कम्पनीलाई दिइएको बीमा कम्पनीहरुको तर्क छ ।
‘सबै बीमामा उस्तै जोखिम हुँदैन, जोखिम कम भएका व्यवसायको हामी पुनर्बीमा गर्दैनथ्यौं, यस्तै आम्दानीबाट हाम्रो नाफा बढी हुने गथ्र्याे, अहिले त जस्तो बीमा गराए पनि पुनर्बीमा गराउनै पर्छ, त्यसको २० प्रतिशत हिस्सा पुनर्बीमा कम्पनी कम्पनीलाई दिनै पर्छ, अहिले हामीले सय रुपैयाँ बीमा शुल्क संकलन गर्यौं भने त्यसको २० रुपैयाँ अनिवार्य रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई दिनै पर्ने जस्तो भएको छ,’ एक निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने ।
सरकारी नियुक्तिबाट आउने संचालक तथा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई आक्रामक रुपमा व्यवसाय विस्तार गर्ने गराउनेभन्दा पनि आफूलाई नियुक्त गर्नेप्रति बढी उत्तरदायी हुने प्रबृत्तिका कारण नेपाल पुुनर्बीमा कम्पनीले अपेक्षित व्यवसायिक उपलब्धी हात पार्न नसकेको बीमा कम्पनीहरुको भनाइ छ ।
सम्बन्धित समाचार