काठमाडौं । कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाई भएपछि बीमा समितिले स्थलगत निरिक्षण गरेको छ । समितिले बुधबार शिखर इन्स्योरेन्समा स्थलगत निरीक्षण गरेको हो । बीमितहरुले समयमै पाउनु पर्ने कोरोना बीमा दाबी भुक्तानीको म्याद सकिँदा पनि पैसा नपाएको गुनासो आउन थालेपछि समितिले बुधबार स्थलगत अनुगमन गरेको बताएको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले कोरोना बीमा गरेपछि बीमितले समयमा दाबी भुक्तानी पाउनु पर्ने भएपनि समयमै नपाएको गुनासो आएपछि स्थलगत निरिक्षण गरेको बताए ।
उनका अनुसार स्थलगत निरिक्षण गर्दा बीमितहरुले तोकिएका सबै काजगातहरु दाबी भुक्तानीको क्रममा पेश नगरेको, कतिपय कोरोना परिक्षण रिर्पोट नै स्पष्ट नहुँदा पनि दाबी भुक्तानको लागि कागज पेश गरीएको र बीमाको दाबी एउटा कम्पनीमाबाट मात्रै पाइने भएपनि कोरोना बीमाको एउटै दाबी बीमितले विभिन्न कम्पनी पठाएको देखिएको बताए ।
कोरोना महामारीको संक्रमण सबैभन्दा धेरै असोज र कात्तिक महिनामा देखिएको थियो । सो संक्रमणकोे बेलामा बीमा कम्पनीका कर्मचारीहरु समेत आफै संक्रमित हुन पुगेकाले दाबी भुक्तानीकालागि केही समय धैर्यता गर्नु पर्ने बीमा समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बीमा समितिले अनसाइट र अफ साइट निरीक्षण गर्दै आएको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा तथा योजनामा पनि अन साइट तथा अफ साइट निरिक्षण प्राथमिकतामा रहने बीमा समितिले बताएको छ ।
नियामकको हिसाबले बीमा समितिले बीमा कम्पनीहरुको गतिविधिहरु माथि निगारानी राखि रहेको हुन्छ । बीमा कम्पनीहरुको व्यवस्थापकीय अवस्था, वित्तीय अवस्था, कर्मचारी संख्या, शाखा संजाल जस्ता विभिन्न गतिविधीमा नियामक बीमा समितिले ध्यान दिने गर्छ ।
हाल कोरोना बीमामा बीमितहरुको उल्लेख्य सहभागिता भएपनि सो बीमा दाबी भुक्तानी भने बीमितको अपेक्षा अनुसार हुन सकेको छैन ।
बैशाखको पहिलो सातादेखि संचालनमा आएको कोरोना बीमामा भदौ अन्तिम सातादेखि मोडेल परिवर्तन गरिएको थियो ।
अर्थ मन्त्रालयले नै कोरोना बीमाको दाबी भुक्तानी दु्रत गतिमा हुनु पर्ने भन्दै बीमा कम्पनीहरुले एक साता भित्र कोरोना बीमाको दाबी भुक्तानी गर्नु पर्ने बताएको थियो । साथै, सोही निर्णयमा परिवर्तन गरी गत साता मात्रै कोरोना बीमाको दाबी भुक्तानी ३ दिन भित्र गर्न अर्थ मन्त्रालयले निर्देशन नै दिइसकेको छ ।