काठमाडौं । बीमा समितिमा परेका मुद्दाहरु मिलाउन वा फैसला गर्न पछिल्लो समय बीमा समिति सक्रिय बन्दै गएको छ । समितिमा आउने मुद्दाहरुको संख्या बढेसँगै समितिले पनि मुद्दाको फैसला गर्नमा तीव्रता दिएको हो । समितिले पनि परेका उजुरीलाई प्राथमिकताका साथ फैसला गराउन थालेको बताएको छ ।
चालु आर्थिक वर्ष २०७७/०७८को हालसम्म बीमा समितिमा ४६ वटा मुद्धा परेका छन् । जसमा ३१ मुद्दाको फैसला भइसकेको छ भने १३ वटा मुद्दाहरु उजुरी गरेका बिमितहरुले फिर्ता लिएका छन् । बीमितहरुले मुद्दा दर्ता गरिसकेपछि पनि पुनः बिमितको सहमति अनुसार नै फिर्ता गर्ने पनि गरिएको छ । दर्ता भइसकेका मुद्धाहरुमा सहमति भएपछि मुद्धा रद्ध भएका हुन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा भने बीमा समितिमा १ सय ४६ वटा मुद्धाहरु दर्ता भएका थिए । बीमा समितिमा लकडाउनको अवधिमा जीवन बीमातर्फ वैदेशिक रोजगार म्यादी बीमा तथा निर्जीवन तर्फ बिमांकका उजुरीहरु बढी आएको समितिले जनाएको छ ।
समितिका अनुुसार लकडाउनमा बीमाशूल्क बुझाउन नसकेका बिमितले बिमांक नपाएको उजुरी गरेका छन् । कोरोना महामारीका कारण भएको लकडाउनको समयमा बिमितले बीमाशूल्क बुझाउन सकेनन् । सो अवस्थामा बिमितहरुले केही विवरणहरु तथा काजगातहरु पूरा गर्न नसक्दा त्यसको असर सोझै बीमितलाई परेको देखिन्छ ।
कोरोना भाइरस महामारीको समयमा बीमा कम्पनीहरुले मोटर बीमा शूल्कमा छुट दिएको थियो । लकडाउनको अवधिमा बीमा कम्पनीहरुले नविकरण गर्ने अवधिपनि थप गरेका थिए ।
नियामक बीमा समितिले नै कोरोना महामारीको समयमा उद्योग कारखाना तथा यातायात चल्ने नसकेको भन्दै छुट प्रदान गर्न निर्देशन दिएको थियो । तर अझै पनि बीमितहरु समस्यामा परेको उजुरीबाट बुझिन्छ ।
समितिका अनुसार लकडाउनको समयमा बीमाशूल्क बुझाउन ढिलाई भएको कारण बिमांक रकम नै नपाएको भन्दै बिमितहरु उजुरी बोकेर समितिमा पुग्ने गरेका छन् ।
त्यस्ता उजुरीको समाधानमा समिति लागि परेको बीमा समितिका अधिकारी बताउँछन् । उजूरी बोकेर जाने बिमितहरुले निर्जीवन तथा निर्जीवन दुवै कम्पनीका छन् । यस्तै, जीवन बीमा तर्फपनि वैदेशीक रोजगार बीमामा बिमितले मुद्धा दर्ता गराएका छन् भने निर्जीवन तर्फ बिमांक नपाएका गुनासो छन् ।
बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले अहिले पनि उजुरीको फैसला तीव्र गतिमा भइरहेको बताए । ‘विगतमा रहेका अधिकांश मुद्धाहरुको फछ्र्यौट भइसकेको छ, पछिल्लो समय संख्यात्मक रुपमा कम तर फरक फरक प्रकृतीका मृद्धाहरु आएका छन्,’ उनले भने ।
बीमा समिति अर्ध न्यायिक निकाय भएकाले बीमा क्षेत्रको समस्या समाधानमा न्यायिक भूमिका पनि समिति सक्रिय हुँदै गएको छ ।
केही मुद्दाहरु समयमा दाबी भुक्तानी नपाएको, बिमीतलाई चित्त नबुझेर पनि उजुरी आउने गरेको समितिको भनाई छ । यस्ता मुद्दामा समितिले पीडितलाई न्याय दिने काम गरिरहेको अधिकारीको भनाई छ ।
बीमा समितिका अध्यक्षले इजलासको नेतृत्व गर्दछन् । बीमा ऐन २०४९ ले बीमा समितिलाई बीमा क्षेत्रको नियमन तथा बीमा दाबी भुक्तानीको सुरु मुद्दा हेर्ने अर्धन्यायिक निकायको रुपमा परिभाषित गरेको छ ।
बीमा सम्बन्धी कुनै पनि समस्या परेमा बीमित वा बीमकले बीमा समितिमा उजुरी गर्न सक्छन् । समितिले गरेको फैसला चित्त नबुझेमा पुनरावेदन गर्न पाउने व्यवस्था समेत रहेको छ । त्यस्तै, पीडित पक्षलाई सहज सेवा दिन समितिले उजुरी दर्ता गर्ने प्रक्रियालाई सहज बनाएको जनाएको छ ।
समितिमा परेको मुद्धालाई सबैभन्दा पहिला सहमतिको आधारमा नै टुङगाउने कोसिस गरिन्छ । समितिले सोही बीमितलाई परेका समस्या तथा मुद्धा मालिलामा सहजिकरणगर्नु समितिको दायित्व हो ।
बीमितले बीमा कम्पनीबाट आफूलाई केही अनियमितता भएको महशुस गरेमा बीमा समितिमा उजुरी गर्न पाउने व्यवस्था छ । सो व्यवस्था अनुुसार आफू समक्ष आएका उजूरीको बीमा समितिले सुपरिवेक्षण, निरिक्षण गर्ने गर्छ ।