काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘शिखर अटो प्लस इन्स्योरेन्स’ पोलिसी ल्याएको छ । नयाँ बीमा पोलिसीमा दावी भुक्तानी गर्दा ह्रास कट्टी नहुने, ध्वस्त (पूर्ण क्षति) भएमा नयाँ मोटरले प्रतिस्थापन गर्न मिल्ने र दुर्घटना पछि मोटर मर्मत गर्न लाग्ने समयअवधिमा बीमितलाई यातायात खर्च दिने सुविधा भएको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले बताए ।
‘सामान्यतया एउटा कारको बम्पर फेर्नुपर्दा २५/३० हजार रुपैयाँ लाग्छ । ह्रास कट्टीपछि बीमितले १२/१५ हजार रुपैयाँ मात्र पाउने गरेका थिए । शिखर अटो प्लस इन्स्योरेन्स गरेको अवस्थामा ह्रास कट्टी हुँदैन, पुरै रकम भुक्तानी पाउने छन्’ नयाँ बीमा पोलिसी सार्वजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले भने । चल्तीका बीमा पोलिसीमा शिशामा बाहेक सबै पाट्सहरुको ह्रास कट्टी हुन्छ । शिखर अटो प्लसमा कुनै पनि पार्टसमा ह्रास कट्टी नहुने उनले बताए ।
नयाँ पोलिसीमा पुरानो गाडी पूरै क्षति हुँदा नयाँ गाडी लिन सकिने सुविधा पनि रहेको छ । ‘पुरानो गाडी पूरै क्षति भएमा सवारी धनीलाई दुईटा समस्या हुन्छ । एकातिर बीमाले दिने क्षतिपूर्ति किनेको मूल्य भन्दा कम हुन्छ । अर्कोतिर नयाँ गाडीको मूल्य पहिलाकाे भन्दा बढिसकेको हुन्छ । यस्तो समस्यालाई समाधान गर्ने गरी हामीले शिखर अटो प्लस योजना बनाएका छौं’ पाण्डेले भने ।
मोटर ग्यारेजमा राखेपछि बीमितलाई यातायातकाे असुविधा हुने गरेकोले त्यस समस्या पनि समाधान गर्ने गरी शिखर अटो प्लस इन्स्योरेन्स ल्याएको उनले बताए । ‘मोटर साइकल धनीलाई दैनिक ५ सय देखि २ हजार रुपैयाँसम्म र चार पाग्रे मोटरको लागि दैनिक १५ सयदेखि ४५ सय रुपैयाँसम्म यातायात खर्च दिन्छौं । यस्तो रकम बीमाङ्कको आधारमा तय हुन्छ’ पाण्डे भन्छन्- ‘यस्तो सुविधा मोटर आंशिक क्षति भएको अवस्थामा १४ दिन र पूर्णक्षति भएको अवस्थामा ३० दिनसम्म दिन्छौं ।’
१४ दिन र ३० दिनको अवधि तोक्दा सेवा छिटाे र प्रभावकारी बनाउने, प्रणालीगत सुधार गर्न सबैलाई दवाव पर्ने र यसले समग्र बजारमा सुधार ल्याउने उनले बताए ।
१० वर्षभन्दा बढी पुराना गाडीका लागि भने यस्तो सुविधा नहुने उनले बताए ।
निर्जीवन बीमा बजारको ५० प्रतिशत हिस्सा मोटर बीमाको रहेको, मोटर बीमामा नै कम्पनीहरुले सर्वाधिक दावी भुक्तानी गर्ने गरेको तर मोटर बीमा क्षेत्रमा ग्राहकहरुबाटै बीमा कम्पनीहरुले बीमा बापतको क्षतिपूर्ति कम पाएको गुनासो आइरहेको पृष्ठभूमिमा नयाँ पोलिसी बनाएको र यस पोलिसीले अटो बजारबाट बीमा कम्पनीप्रति आउने गुनासो कम गर्न मद्दत गर्ने प्रमुख कार्यकारी अधिकृत पाण्डेकाे भनाई छ । बीमा गरेपछि जति पनि लस हुँदा बीमितले खल्तीबाट पैसा झिक्न नपरोस् र क्यासलेस बीमाको प्रयोग बढोस् भन्ने कम्पनीको चाहाना रहेको उनले बताए ।
शिखर अटो प्लस इन्स्योरेन्सको पुर्नबीमा सतप्रतिशत नेपाल पुर्नबीमा कम्पनीमा गरिएको जानकारी दिँदै यस बीमामा डलर विदेश नजाने भएकोले देशलाई नै फाइदा भएको उनले बताए ।

शिखर अटो प्लस इन्स्योरेन्स सार्वजनिक कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले नयाँ बीमा पोलिसी साँच्चिकै सिर्जनात्मक भएको बताए । अटो बीमामा ८० प्रतिशत बीमा दावी आउने गरेको र सार्वजनिक यातायाततर्फ ९९ प्रतिशत नै बीमा दावी पर्ने गरेको बताउँदै उनले यस्तो बीमा पोलिसीले बजारमा राम्रो प्रभाव पार्ने बताए । उनले कोभिड बीमाको कारण अर्थतन्त्रलाई गतिशील बनाउन धेरै मद्दत गरेको बताए ।
हास्य कलाकार तथा शिखर इन्स्योरेन्सका ब्राण्ड एम्बेस्डर हरिवंश आचार्यले पनि शिखरको अटो प्लस योजना उपयोगी भएको बताए । ‘सिंहदरवार अगाडि मेरो गाडीमा पछाडिबाट बसले ठक्कर दियो । बीमा दावी गर्दा ४० हजार रुपैयाँ पाएँ । तर त्यो भन्दा बढी खर्च मलाई ट्याक्सीमा हिड्दा भएको थियो’ उनले पुरानो घट्ना स्मरण गर्दै भने- शिखरको अटो प्लस इन्स्योरेन्स पोलिसी लिएमा क्षतिपूर्ति पनि पाइने भयो, ट्याक्सी भाडा पनि पाइने भयो ।’