काठमाडौ । अहिले कुनै पनि बीमा कम्पनीको वेबसाइटमा गएर सहजै बीमा पोलिसी खरिद गर्न सकिन्छ । तर, दाबी भुक्तानी लिनुपर्यो भने अब थपिन्छ बीमा कम्पनीमा चक्कर लगाउने काम ।
डिजिटल्ली बीमा पोलिसी किन्न सम्भव भएपनि दाबी भुक्तानी भने डिजिलटाइज्ड भएको छैन । आर्थिक रक्षावरणको लागि गरिने बीमामा आर्थिक क्षति भएको बेलामा दाबी भुक्तानी नपाइने भयो भने बीमाको अर्थ नै के रह्यो र !
अहिले बीमा पोलिसी डिजिटल माध्यमबाट किन्न सकिए पनि दाबी भुक्तानी भने डिजिटलाइजेसन भइनसकेको सरोकारवालाले बताएका छन् । दाबी भुक्तानीको लागि अपनाउनु पर्ने विधिका कारण समस्या आएको छ ।
सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल हवाईजहाज, गाडीको टिकेट काट्नेदेखि सेयर भर्न, चिया खाएको पैसा तिर्न तथा तरकारी किन्न समेत स्मार्ट फोनबाटै मिल्ने अहिलेको अवस्थामा बीमा क्षेत्रका सबै गतिविधि पूर्ण डिजिटलाइजेसन हुनुपर्ने तर्कसँग सहमत छन् । बीमा पोलिसी किन्नको लागि प्रविधिको प्रयोग हुन थालेपनि दाबी भुक्तानीमा भने अझै केही काम गर्न बाँकी रहेको उनको भनाइ छ ।
बीमा पोलिसी खरिद गर्दा अनिवार्य रुपमा हुलाक टिक टास्नुपर्छ । यस्तो टिकट पोलिसी खरिदको बेलामा भन्दा पनि दाबी भुक्तानी लिने बेलामा आवश्यक पर्छ । किनभने उक्त टिकट सहितको कागजात बीमा दाबी भुक्तानी लिने बेलामा पेश गर्नुपर्छ । अहिले पनि बैदेशिक रोजगार म्यादी जीवन बीमा र लघु बीमा करिब डिजिटलाइज्ड भइसकेको छ ।
सोही हुलाक टिकट सहितको पोलिसी पेपर डिजिटल्ली राख्न समस्या हुने भएकाले दाबी भुक्तानी लिन नमिल्ने बीमा कम्पनीले जानकारी दिएका छन् ।
विद्युतीय कारोबार ऐन अनुसार नै अनलाइनबाट बीमा पोलिसी किनबेच गर्न तथा दाबी भुक्तानी गर्न समस्या नपर्ने बीमा कम्पनीहरुले बताएका छन् ।
अनलाईनबाट कारोबार गर्नको लागि डिजिटल सिग्नेचर समेत सुचारु गर्न विद्युतीय कारोबार ऐनले व्यवस्था गरेकोले सहयोग पुग्ने देखिएको हो ।
समिति भन्छः हुँदैछ
अन्तर्राष्ट्रिय प्रचलन अनुसार पनि बीमा पोलिसी अनलाईनबाटै किनबेच गर्न मिल्छ । अधिकांश विकसित देशहरुमा बीमा डिजिटलाइज्ड भएकै छ । बीमा समितिले पनि बीमाका हरेक कारोबार अनलाइनबाट गर्न सघाउने बताएको छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रमा अहिले देशव्यापी रुपमा डिजिटल प्रयोग बढेको र सोही अनुसार नेपाली बीमा क्षेत्र पनि डिजिटलाइज्ड हुँदै गएको बताए ।
‘अहिलेको युग प्रविधिको युग हो, सोही कारण बीमा क्षेत्रलाई पनि प्रविधिमैत्री बनाउने कुरा हामीले प्राथमिकतामा राखेका छौं, चालु आर्थिक वर्षभित्र नै बीमा कम्पनीका दाबी भुक्तानी समेत अनलाईनबाट पाउने वातावरण मिलाउने बीमा समितिको लक्ष्य छ’, कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने ।
बिमक भन्छन्ः डिजिटलाइज्ड गर्नुपर्छ
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालका अनुसार अहिले डिजिटल कारोबार ग्राहकहरुको पहिलो प्राथमिकतामा जस्तै बनिसकेको छ ।
‘विभिन्न आर्थिक गतिविधिसँग सम्बन्धित क्रियाकलापहरु अहिले अनलाइनबाटै गर्न मिल्छ, सोही कारण बीमा पोलिसीको किनबेच मात्र नभई दाबी भुक्तानीसम्म अनलाइनबाटै हुने व्यवस्था गर्न सके बीमाको पहँुच अहिलेको भन्दा दोब्बर बढ्ने मेरो अनुमान छ’, प्रमुख कार्यकारी अधिकृत अर्यालले भने ।
प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईका अनुुुसार अहिले बीमा कम्पनीका प्रोडक्टहरु अनलाइनबाटै किन्न मिल्छ ।
‘बीमा कम्पनीका अधिकांश प्रोडक्टहरु अहिले अनलाइनबाटै किन्न मिल्छ, तर दाबी भुक्तानी भने अनलाइनबाट पाउँन सकिन्न, आगामी दिनमा अनलाइनबाटै दाबी भुक्तानी गर्ने व्यवस्था बनाउन आवश्यक छ’, प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने ।
राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुभाष कोईरालाका अनुसार अनलाईनबाट बीमा पोलिसी किन्न मिले पनि दाबी भुक्तानी प्राप्त गर्न सकिदैन ।
‘अहिले अनलाईनबाट बीमा गर्न मिल्छ, त्यसका लागि बीमा कम्पनीहरुले विभिन्न एप समेत संचालनमा ल्याएका छन्, तर डिजिटल्ली नै दाबी भुक्तानी भने पाउन सकिदैन, नियामक बीमा समितिले बैकको आइपीएस जस्तै सिस्टम बीमामा संचालन गरेमा अनलाइनबाटै दाबी भुक्तानी पाउन सम्भव हुन्छ’, मुख्य व्यवस्थापक कोइरालाले भने ।
कुनैपनि बीमा पोलिसी किन्दा २० रुपैयाँ बराबरको हुलाक टिकट अनिवार्य टाँस्नु पर्ने व्यवस्था छ ।
बिमितले डिजिटल्ली बीमा पोलिसी किन्दा पनि कम्पनीले टिकट टाँसेर नै बीमा पोलिसी जारी गर्छन् । सो पोलिसी बिमितले फिजिकल्ली लिने गर्छन् ।
उक्त पोलिसीको काम बीमाको दाबी भुक्तानी लिने बेलामा आउँछ । त्यसरी बीमाको दाबी भुक्तानी लिने बेलामा पोलिसीको सक्कल कपि अनिवार्य चाहिन्छ । सोही सक्कल कपि अनिवार्य चाहिने भएकोले नै अहिले अनलाईनबाट बीमा दाबी भुक्तानी लिन नसकिने हो । दाबी भुक्तानी लिने बेलामा अनिवार्य रुपमा औठाछाप लगाउनु पर्ने भएकोले पनि दाबी भुक्तानी डिजिटलाइज्ड हुन नसकेको सरोकारवालाले बताएका छन् ।