काठमाडौं । बीमा समितिको नयाँ अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गरेका हुन् ।
वर्तमान अध्यक्ष चिरन्जीवी चापागाईंको कार्यकाल पुस २३ गते सकिदैछ । कार्यकाल सकिन एक साता बाँकी भएपनि अध्यक्ष चापागाईं गत मंगलबार (हिजो) देखि विदामा बसेका छन् ।
समितिमा अध्यक्ष पद रिक्त हुन लागेकोले अर्थमन्त्री पौडेलले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन चासो देखाएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । नयाँ अध्यक्षका लागि अर्थमन्त्री पौडेलले सम्भावित उम्मेदवार छनोट गर्न पनि लागेका स्रोतको दाबी छ ।
‘अहिले नै अध्यक्ष पद रिक्त भइसकेको अवस्था होइन, पुस २३ गतेदेखि रिक्त हुने भएकोले नयाँ अध्यक्ष नियुक्तिको विषयमा अर्थमन्त्रीज्यूले चासो देखाउनु भएको छ, उहाँले लगेका प्रस्ताव मन्त्रिपरिषदमा रोकिने वा ढिला हुने सम्भावना नै नभएकोले अर्थमन्त्रीज्यूले जहिले प्रस्ताव लानुहुन्छ, सोही दिन समितिले नयाँ अध्यक्ष पाउँछ,’ अर्थमन्त्री पौडेल निकट स्रोतले भन्यो ।
अर्थमन्त्री पौडेलले यही साता नयाँ अध्यक्ष नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लाने सम्भावना रहेको मन्त्रालय स्रोतको भनाई छ । अहिले कसलाई नयाँ अध्यक्ष बनाउने भन्ने विषयमा मन्त्री पौडेलले मन्त्रालयको आफ्नो कोर टीम र प्रधानमन्त्री ओलीसँग परामर्श गरिरहेका छन् ।
‘अहिले उहाँ (अर्थमन्त्री पौडेल) अरुका कुरा सुनिरहनु भएको छ, प्रस्तावित उम्मेदवारमध्ये उहाँलाई उचित लागेको व्यक्तिलाई अध्यक्ष बनाउने गरी मन्त्रिपरिषदमा प्रस्ताव लानु हुन्छ,’ निकट स्रोतले भन्यो ।
बीमा समितिको अध्यक्ष अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले नियुक्त गर्ने व्यवस्था छ । समितिको अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी लगायत प्रतिस्पर्धामा छन् । नेपाल राष्ट्र बैंकको गभर्नर पदका लागि वलियो प्रतिस्पर्धी देखिएका सिवाकोटी अन्तिममा आएर महाप्रसाद अधिकारीलाई गभर्नर बनाइएको थियो । गभर्नरको प्रत्यासी रहेका र नेपाल राष्ट्र बैंकको बरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारी बहन गरिरहेका सिवाकोटीले समितिले अध्यक्ष बन्न चाहेमा नरोक्ने कि भन्ने सोचमा अर्थमन्त्री पौडेल रहेको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार