
काठमाडौं । १८ वटा बीमा कम्पनीको फाइल ८ वर्ष दराजमा थन्क्याएर निर्णय नगरी बीमा समितिको नेतृत्वबाट बाहिरिएका व्यक्तिहरु नै अहिले नयाँ बीमा कम्पनी खोल्ने अभियानमा लागेका छन् । बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा फत्तबहादुर केसी र उनका निकटतम सहयोगी तथा तत्कालिन निर्देशक श्रीमान कार्की अहिले तीन वटा नयाँ बीमा कम्पनी खोल्ने फाइल तयार गर्दैछन् ।
उनीहरु एउटा पुनर्बीमा कम्पनी, एउटा निर्जीवन बीमा कम्पनी र एउटा लघुबीमा कम्पनी खोल्ने तयारीमा जुटेका छन् । पुतली सडकमा अफिस राखेर उनीहरूले तीनै वटा कम्पनीको लागि पुँजी जुटाउने, कम्पनीको प्रबन्ध पत्र र नियमावली बनाउने तथा व्यवसायिक योजना बनाउने काम गरिरहेका छन् ।
तीनवटै कम्पनीको दर्ता प्रक्रियाका कागजपत्र बनाउने र पुँजी जुटाउने कार्यको कार्यकारी नेतृत्व श्रीमान कार्कीले गरिरहेका छन् । प्रा.डा. फत्त बहादुर केसी परामर्शदाताको रुपमा कार्यरत छन् ।
‘बीमा समितिमा रहदा अध्यक्षकाे रुपमा कार्यकारी प्रमुख केसी थिए, कार्की सहयोगी थिए, अहिले कार्यकारी प्रमुख कार्की छन् भने उनको सहयोगीको भूमिकामा केसी छन्’ प्रस्तावित कम्पनीमा लगानी गर्ने प्रतिवद्धता जनाएको एक लगानीकर्ताले भने ।
प्रस्तावित तीनवटै कम्पनी ‘अभियान’ नामबाट चलाउने कि भन्नेमा छलफल चलेको छ । तर, पुनर्बीमा, निर्जीवन र लघुबीमा कम्पनी एउटै नामबाट संचालन नगर्ने कि भन्ने तर्क लगानीकर्ताले गरेका छन् ।
‘अभियान जनरल इन्स्योरेन्स, अभियान माइक्रो इन्स्योरेन्स र अभियान रिइन्स्योरेन्स कम्पनी खोल्ने प्रस्ताव एक पक्षको छ भने तीन कम्पनीको नाममा एक रुपता नगर्ने प्रस्तावमा पनि छलफल भईरकेको छ’ उनले भने ।
अभियान जनरल इन्स्योरेन्सको नाममा भने सबैको सहमति जुटेको उनले बताए ।
तत्कालिन अध्यक्ष डा. केसी र निर्देशक कार्कीले पुराना कम्पनीसँगको मिलोमताेमा नयाँ बीमा कम्पनीलाई लाइसेन्सन नदिएको आरोप त्यतिबेलै लागेकाे थियो । नयाँ कम्पनी खुल्दा बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुने, पुराना कम्पनीको व्यवसाय संकटमा पर्ने, बीमा कम्पनीहरु नोक्सानमा जाने, बीमाका लगानीकर्ता डुब्ने, बीमा बजारप्रति अविश्वास पैदा हुने र समग्र बीमा क्षेत्र कोल्याप्स हुने त्रास देखाएर उनीहरुले १८ वटा बीमा कम्पनीलाई लाइसेन्स नदिएर ८ वर्षसम्म बन्धक बनाएका भन्ने आरोप नयाँ कम्पनीहरुकाे थियाे ।
देवेन्द्र प्रताव शाह बीमा समितिको अध्यक्ष भएको बेलामा २०६३/६४ मा नै १३ वटा बीमा कम्पनीले कारोबार सञ्चालन गर्न माग गर्दै बीमा समितिमा निवेदन दिएका थिए । शाहले सबै कम्पनीलाई लाइसेन्स दिने तयारी गर्दै थिए । २०६४ साल भदौमा सरकार परिवर्तन भयो । प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारको सट्टामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्यो । नयाँ सरकारबाट असहयोग भएपछि अध्यक्ष देवेन्द्र प्रताव शाहले राजीनामा दिए । डा फत्त बहादुर केसी नयाँ अध्यक्ष भए ।
उनी अध्यक्ष भएपछि पनि थप ५ वटा बीमा कम्पनी सञ्चालन अनुमति मागे । १८ वटा बीमा कम्पनीले कानुनी प्रक्रिया पुरा गरेर, कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर, नियम अनुसार सरकारलाई राजश्व तिरेर बीमा समितिसँग सञ्चालन अनुमति मागेका थिए । तर अध्यक्ष केसीले केही निर्णय नगरी फाइल थन्क्याएर राखेका थिए ।
‘कानुन अनुसार कम्पनी खोलेर व्यवसाय गर्छु, रोजगारी सिर्जना गर्छु, सरकारलाई कर तिर्छु, नाफा भए खान्छु, नोक्सान भए बेहोर्छु भनेर लगानीकर्ताले अनुमति माग्दा बीमा समितिले निर्णय नगरी ८ वर्षमा अनिर्णयमा राख्नु त्यतिबेला बीमा समितिको ‘ब्लण्डर’ थियो । विकास विरोधी काम थियो’ बीमा समितिका एक अधिकारीले भने ।
केसी ८ वर्ष बीमा समितिको अध्यक्ष भएपछि नयाँ अध्यक्षमा चिरञ्जीवी चापागाईको नियुक्ति भयो । चापागाईले पुराना फाइल खोले । प्रक्रिया पुरा गरेर आउने सबैलाई लाइसेन्स दिए । १३ वटा कम्पनीले नयाँ लाइसेन्स पाए । मनकामना, जेनिथलगायत केही कम्पनीले लाइसेन्स लिन चासो दिएनन् ।
एकै वर्षमा १३ वटा कम्पनी खुले पनि कुनै पनि कम्पनी नाेक्सानीमा गएनन् । ४० वटै बीमा कम्पनी नाफामा चलिरहेका छन् । बीमा बजार विस्तार भएकाे छ । चार वर्षमा बीमाकाे पहुँच करिब ४ गुणाले वृद्धि भएकाे छ । समग्रमा बीमा क्षेत्रले राम्राे गति समातेकाे छ । त्यसैकाे प्रभावले अहिले फेरि ६ वटा बीमा कम्पनीहरुले खुल्ने तयारीमा छन् । तर अहिलेसम्म एउटा कम्पनी पनि बीमा समितिमा लाइसेन्स माग्न नपुगेको बीमा समितिका अधिकारीहरु बताउँछन् ।
अरु बीमा कम्पनीले लाइसेन्स माग गर्दै बीमा समिति जानु स्वभाविक भए पनि जिम्मेवारीमा हुँदा ८ वर्षसम्म १८ वटा नयाँ बीमा कम्पनीलाई अनुमति नदिएर अनिर्णयको बन्दी बनाउने तत्कालिन अध्यक्ष प्रा.डा फत्तबहादुर केसी र निर्देशक श्रीमान कार्की नै अहिले नयाँ कम्पनीको खोल्ने तयारीमा हुनुलाई धेरैले स्वार्थ बाझिएको अर्थमा लिएका छन् । स्वाभिमानमा बाँच्नेहरूले यस्ताे काम गर्न नहुने कतिपयकाे भनाइ छ ।
अध्यक्ष भए झन् सहज
बीमा समितिको अध्यक्ष पद यहि पुस २४ गतेबाट खाली हुँदैछ । उक्त पद लिन दर्जन भन्दा बढी आकांक्षी छन् । त्यसमध्ये श्रीमान कार्की पनि एक हुन् ।
उनलाई अध्यक्ष बनाउन पूर्व अध्यक्ष केसी पनि लागि परेका छन् । निवर्तमान स्वास्थ्य मन्त्री तथा अहिलेका पर्यटनमन्त्री भानुभक्त ढकालको सहयोगमा कार्की अध्यक्ष बन्ने तयारीमा छन् । मन्त्री ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मध्येमा पर्छन् । श्रीमान कार्की पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका भतिज हुन् । २०४६ सालको आन्दोलानमा नेपाली कांग्रेसको झण्डा बोकेर आन्दोलन गरेका कार्की पछिल्लो समय पूर्व एमालेहरुलाई संगठिन गरेर ‘अभियान’ नामको तीन वटा बीमा कम्पनी खोल्ने तयारीमा जुटेका छन् ।
उनी बीमा समितिको अध्यक्ष भएमा तीन वटै कम्पनीको लाइसेन्स लिन पनि सजिलो हुने र नियामकबाट पूर्ण सहयोग मिल्ने भएकोले कार्कीलाई नै अध्यक्ष बनाउन उक्त कम्पनीका लगानीकर्ताहरु कस्सिएर लागेको बताइएकाे छ।