काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी ओलीले आगामी दुई बर्षभित्र नेपालको आफ्नै पेट्रोल खानी हुने बताएका छन् । प्रेस चौतारी नेपालको आठौं अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आगामी दुई बर्षभित्रै नेपालले आफ्नो गर्भमा रहेका पेट्रोल खानीबाट इन्धन निकाल्ने घोषणा गरेका हुन् । उनले भारतको पेट्रोलको विकल्पमा चिनियाँ पेट्रोल नभएर आफ्नै खानीको पेट्रोल उपभोग गर्ने घोषणा गरेका हुन् । खानीको विस्तृत अध्ययन भैरहेको उनले जानकारी समेत दिएका छन् । चीनियाँ भुर्गव शास्त्रीहरुको ६ सदिस्यय टोलीले नेपालका बिभिन्न स्थानमा रहेका इन्धन खानीहरुको अध्ययन गरिरहेको छ ।
दैलेखको ग्यास खानीको अध्ययन सकेर टोली पाल्पाको फलाम खानी हुँदै बिराटनगरको पेट्रोल खानीको अन्वेषणमा जुटेको छ । उनले नवलपरासीको फलाम खानीबाट १० अर्ब रुपैंयाँ बराबरको फलाम निस्कने बताउँदै सरकारले तयारी अन्तिम चरणमा पुर्याएको दावी समेत गरे ।
नेपालले २०२८ सालमै पानी जहाज खरिदका लागि बैना गरिसकेको जानकारी दिँदै त्यसका लागि आवश्यक कानुनी व्यवस्था समेत त्यतिबेला नै भैसकेको बताए । ‘समुन्द्रमा नेपालको पानी जहाज हुन्छ भन्ने म पहिलो व्यक्ति होइन रहेछु, २८ सालमा कानुन बनाएर त्यसका लागि एउटा कम्पनीलाई बैना समेत दिईसकिएको रहेछ, त्यतिबेला पैसा कम भएकाले नकिनिएको रहेछ, अब हामी किन्छौं ।’ ओलीले भने । उनले आफुलाई इन्भर्टिड कमाधारी विद्धानहरुले साह्रै दुःख दिएको आरोप समेत लगाए । नेपालमा विकास गर्छु भन्दा विद्धानहरुले आफ्नो आलोचना गरेको बताउँदै उनले वालबच्चालाई पढायो भने विद्धान बन्छ भन्ने कुरामै शंका गर्नु पर्ने अवस्था आएको समेत बताएका थिए ।