काठमाडौं । केही महिनायता नेपाली पुँजी बजारमा उत्सव मच्चिरहेको छ । खासगरी अर्थमन्त्रीबाट डा. युवराज खतिवडा हट्ने पक्का भएसँगै रौनक छाउन थालेको पुँजी बजारमा सो हर्साेल्लास अझै कायमै छ ।
केही महिनायता दैनिक ७/८ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ भने परिसूचक पनि वृद्धिकै चरणमा छ । कुनै दिन बजारमा सामान्य करेक्सन देखिए पनि त्यसको भोलिपल्ट बजारले अर्काे नयाँ रेकर्ड राख्ने क्रम जारी छ ।
यसअघिको बुलमा १८८१ विन्दुमा पुगेको पुँजीबजार मापक नेप्से परिसुचकले अहिले सो विन्दुलाई निकै तल पारेर २४२० भन्दा माथि पुगिसकेको छ । सेयर बजारका लगानीकर्ता, कारोबारी, ब्रोकर, नियामक निकाय जस्ता सबै पक्ष अहिले खुसीयाली मनाइरहेका छन् ।
पुँजी बजारमा आवश्यक रकमको व्यवस्थापन बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेका छन् । बैंकिङ क्षेत्रमा जम्मा भएको निक्षेप रकम कर्जाको रुपमा जान नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले सेयर खरिद गर्नको लागि सहजै कर्जा प्रदान गरिरहेका छन् । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) पर्याप्त हुनु र बजारमैत्री व्यक्तित्व बनाएका विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालय संहाल्नु पनि सेयर बजारका लागि अर्काे खुसीयालीको कारण बनेको छ । यस्तै, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बजारका सरोकारवालासँग आवश्यक समन्वय र सल्लाह गरी निर्णय गर्दै सहजिकरण गरिदिएपछि बजारले अझ गति लिएको हो ।
अहिले बैंकहरुले सेयरधितोमा प्रदान गर्ने कर्जाको व्याजदर कति कायम गरेका छन् भन्ने अर्काे प्रमुख विषय बन्छ । किनभने व्याजदर कम भएको बेलामा सेयर बजार बढ्ने गरेको हुन्छ । अहिले घटेको व्याजदर अनुसार सबैभन्दा सस्तोमा व्याज भने सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले दिने गरेको छ ।
बैंकहरुले आफ्नो वेबसाइटमा उल्लेख गरेको व्याजदर अनुसार नै कुन बैंकले कति व्याजमा सेयरधितो कर्जा प्रदान गर्छन् भन्ने यकिन गरिएको हो । हुन त अधिकांश बैंकहरुले प्रकाशित गरेको व्याजदरमा न्यूनतम दरदेखि अधिकतम यति प्रतिशतसम्म प्रिमियम लिने भनेर उल्लेख गरेका छन् । हामीले यो समाचारमा बैंकहरुले लिने भनेको अधिकतम प्रिमियम जोडर व्याजदर कायम गरेका हौं । न्यूनतम प्रिमियम अनुसार सोभन्दा कम व्याज हुन आउँछ ।

बैंकहरुले प्रकाशित गरेको बेसरेट (आधार दर) मा प्रिमियम जोडर व्याज कायम गर्ने गर्छन् । सोअनुसार सेयरधितो कर्जामा राष्ट्रिय वाणिज्य बैंकले बढीमा ८.७४ प्रतिशत व्याजमा ऋण दिन्छ भने सबैभन्दा महंगो देखिएको कुमारी बैंकले अधिकतम १४.९२ प्रतिशत व्याज लिन्छ ।