काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)को प्रिअलोटमेन्ट आज बुधबार(माघ १४ गते) सम्पन्न भएको छ । यससँगै आईपीओ बाँडफाँड भने आगामी शुक्रबार अर्थात माघ १६ गते हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बताएकाे छ ।
क्यापिटलले दिएकाे जानकारी अनुसार ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति कम्पनीकाे सेयर पाउने भएका छन् । त्यस्तै, ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकलाई बाँकी रहेकाे सेयर गाेलाप्रथाबाट थप १०/१० कित्ताकाे दरले बाँडफाँड गरिने क्यापिटलले विकान्यसन्युजलाई बताएकाे छ । यससँगै, बैंककाे सेयरमा आवेदन दिने आवेदकले न्युनतम ५० कित्ता र भाग्यमानीले अधिकतम ६० कित्ताकाे दरले सेयर हात पार्ने छन् ।
बैंकले गत माघ २ गतेदेखि माघ ६ गतेसम्म निष्काशन गरेको आईपीओमा इतिहासकै बढी आवेदन परेकाे छ । क्यापिटलले दिएकाे पछिल्लाे जानकारी अनुसार आईपीओमा कूल १५ लाख ५० हजार ३२५ आवेदकले कूल १८ कराेड ३४ लाख कित्ता सेयर अर्थात १८ अर्ब ३४ करोड रूपैयाँ बराबरकाे आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा २.४१ गुणा बढी आवेदन हाे । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर मात्रै माग गरेकाे थियाे ।
बैंकले प्रतिकित्ता एक सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेकाे थियाे । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियाे ।
यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी हो ।
सम्बन्धित समाचार