काठमाडौं, ७ जेठ । सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत बास्तविक क्षेत्रलाई पूजी बजारमा भित्र्याउन प्याकेज योजना ल्याउने भएको छ । अहिले पूजी बजारमा कुल सुचिकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्थाको बजार हिस्सा ८० प्रतिशतको हाराहारीमा रहेको अवस्थामा बजार विबिधिकरण गर्न बास्तविक क्षेत्र भित्र्याउने तयारी सरकारले गरेको हो ।
बास्तविक क्षेत्रलाई पूजी बजारमा प्रबेश गराउन बजेटमा नै केही विषेश प्रकारका कार्यक्रम आउनु पर्ने भएकोले सरकारले बजेट मार्फत नै योजना सार्बजनिक गर्न लागेको छ । धितोपत्र वोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले पूजी बजारमा बास्तविक क्षेत्रलाई भित्र्याउन आकर्षक योजना आउनुपर्ने बताउदै आएका छन् ।
बोर्डको सिफारिस अनुसार सरकारले बास्तविक क्षेत्रलाई पूजी बजारमा प्रवेश गराउन विभिन्न योजना ल्याउने गृहकार्य थालेको छ । यस्तो योजनामा निश्चित अवधिसम्म कर छुट दिने, प्रिमियम मूल्यमा सेयर विक्री गर्न पाउने जस्ता योजना ल्याउनु पर्ने बोर्डका अध्यक्ष डा. कार्कीको भनाइ छ ।
यस्तै केही योजना मौद्रिक नीति मार्फत पनि ल्याउनु पर्ने भएकोले त्यसको लागि बोर्डले पहल थालेको छ । बोर्डका अधिकारीले नेपाल राष्ट्र बैंकका अधिकारीलाई अगामी आर्थिक बर्षको मौद्रिक नीति ल्याउदा बास्तविक क्षेत्र पूजी बजारमा प्रबेश गर्दा पाउने सुविधाको प्याकेज समावेश गर्न अनुरोध गरिसकेका छन् ।
बास्तविक क्षेत्र पूजी बजारमा प्रवेश गरेको अवस्थामा सहुलियत ब्याजदरमा कर्जा प्राप्त गर्न सक्ने जस्ता सुविधा मौद्रिक नीतिमा समावेश गर्न बोर्डले पहल थालेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका बास्तविक क्षेत्र पनि पूजी बजारमा प्रवेश गर्न इच्छुक भएपनि विभिन्न कारणले सम्भव नभएको बताउछन् । बास्तविक क्षेत्रलाई पूजी बजारमा ल्याउनको लागि सरकारले पहल नगरेको र कुनै सुविधा नदिएकोले सम्भव नभएको उद्योगी ब्यवसायीको भनाइ छ ।
उद्योगी ब्यवसायीले बास्तविक क्षेत्रलाई पूजी बजारमा ल्याउन सरकारले पहल नगरेको आरोप लगाए पनि उनीहरु आफैमा पूजी बजारमा प्रवेश गर्न सकिन्छ भन्नेमा ढुक्क भने छैनन् । ‘पूजी बजारमा जान पाए हामीलाई पनि सहज हुने थियो, तर विगतको अनुभव त्यति राम्रो नभएकोले सर्वसाधारणले विश्वास गर्छन कि गर्दैनन् भन्ने दुबिधा अझै कायम रहेको मैले महसुस गरेको छु,’ महासंघका अध्ययक्ष मुरारकाले भने ।
विगतमा निजी क्षेत्रवाट संचालित सुचिकृत केही उद्योग बन्द भएका छन् । केही कम्पनी उच्च नोक्सानमा छन् । यस्तो नजिरले सर्वसाधारणको विश्वास जित्न सकिन्छ भन्नेमा उद्योगी द्धुविधामा परेका हुन् ।
केही कम्पनीहरु भने यसअघि नै सुचिकृत हुने गृहकार्यमा जुटेका थिए । केही नेपाली उद्योग भने अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जमा सुचिकृत हुने हल्ला चले पनि पछि त्यसै सेलाएको थियो । सेयर बजार बढेर १५ सय विन्दमा पुगेको बेलामा बास्तविक क्षेत्रले पनि सेयर खुल्ला गरे सहजै विक्री गर्न सकिने अनुमान सरकारी अधिकारी र उद्योगीको छ ।