काठमाडाैं । ज्योति विकास बैंकको प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित भएकाे छ । माघ १४ गते सम्पन्न बैंककाे १३ औं वार्षिक साधारणसभाले सञ्चालक समितकाे उक्त प्रस्तावलाई पारित गरेकाे हाे ।
सभाले पारित गरेसँगै बैंकका सेयरधनीले गत आर्थिक वर्षकाे नाफाबाट चुक्ता पुँजीकाे १० प्रतिशत बाेनस सेयर पाउने भएका छन् । यससँगै बैंकको चुक्ता पुँजी ३ अर्ब ८४ करोड रूपैयाँ नाघेकाे छ ।
सभाले बैंकको आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदन पारित गरेकाे छ ।
साथै, साधारण सभाले ज्योति विकास बैंककाे सञ्चालक समितिमा ५ जनालाई निर्विरोध निर्वाचित गरेकाे छ । बैंकले संस्थापक सेयरधनी समुहको तर्फबाट हरिप्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।
बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंककाे सभा बुधवार भद्रकाली स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारणसभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो ।
बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाख भन्दा बढी खाताबाट करिब ४६ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २३ हजार भन्दा बढि ऋणीलाई करिब ३७ अर्ब रूपैयाँ लगानी गर्न सफल भएको छ ।