काठमाडौं । आज सेयर बजार राताम्ये देखिएको छ । यो सामाचार तयार पार्दासम्म (१ बजोर ९ मिनेटसम्मको समयमा) पुँजी बजार मापक नेप्से परिसुचक करिब ५४ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो समयसम्ममा परिसुचक ५३.८२ अंकले घटेको छ भने ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अधिंकाश उपसुचक घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुहको ४०.१ अंकले, ट्रेडिङ समुह १३.९९ अंकले, होटल समुह ४७.३७ अंकले, विकास बैंक समुह ४६.५२ अंकले, जलविद्युत समुह ४४.११ अंकले, वित्त कम्पनी समुह ४१.६३ अंकले, निर्जीवन बीमा समुह २८५.५९ अंकले, उत्पादनमुलक समुह १४२.८५ अंकले, अन्य समुह २७.२८ अंकले, माइक्रोफाइनान्स समुह १२०.६८ अंकले र जीवन बीमा समुह ३९५.८४ अंकले घटेका छन् ।
किन घट्यो बजार ?
केही महिनादेखि लगातार बढेको सेयर बजार आज भने घटेको छ । नेपाली पुँजी बजारमा ६५ प्रतिशतभन्दा बढीको हिस्सा रहेको बैंकिङ क्षेत्रको नाफा गत वर्षको तुलनामा कम भएको ६ महिने वित्तीय विवरण सार्वजनिक भएपछि सेयर बजार अब के होला भन्ने चासो अघिल्लो साताको मध्यतिरबाटै देखाउन थालिएको थियो ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली हठात प्रतिनिधिसभा विघटन गरेर मध्यावधी निर्वाचनको घोषणा गर्दा पनि सेयर बजारले कुनै प्रतिक्रिया दिएको थिएन । सर्वाेच्च अदालतमा विचाराधिन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा निर्णय आउने चरणमा पुगेकोले पनि बजारमा केही शिथिलता देखिएको हुन सक्ने आंकलन गरिएको छ ।
यस्तै, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधी समीक्षा सार्वजनिक गरेको छैन । मध्यामधी समीक्षा मार्फत सेयर बजारका लागि केही कडा व्यवस्था गर्न लागिएको आंकलन गरेर पनि बजार केही संकुचन भएको हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।
‘बैंकहरुको ६ महिनाको वित्तीय विवरण सार्वजनिक भएदेखि नै बैंकको सेयरमा केही मन्दी देखिएको थियो, प्रतिनिधिसभा विघटनको मुद्दा अन्तिम किनारा लाग्ने चरणमा पुगेजस्तो महसुस गरिएको र राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत सेयर बजारमा केही कडाई गर्छ कि भन्ने आंकलन लगानीकर्ताले गरिरहेका छन्, यी तीनवटा कारणले गर्दा बजार घटेको हुन सक्छ,’ एक ब्रोकरले भने ।