काठमाडौं । सेयर बजारमा उच्च वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ६५ अंकले वृद्धि भइ २४७३ भएकाे छ । होटल समूहबाहेक सबै क्षेत्रका कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।
समूहगत रुपमा सबैभन्दा धेरै मूल्य वृद्धि बीमा कम्पनीहरुको सेयरमा भएको छ । मंगलबार निर्जीवन बीमा समूहको परिसूचक ६२६ अंकले वृद्धि भएको छ भने जीवन बीमा कम्पनी समूहको परिसूचक ५९४ अंकले वृद्धि भएको छ ।
बीमा कम्पनीहरुको नियामक बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएको भोलिपल्टको बीमा समूहका कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । यद्यपी सिलवाल बीमा क्षेत्रको परिचित र विज्ञ व्यक्ति होइनन् ।
मंगलबार यूनाईटेड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । एकै दिन ९ प्रतिशतभन्दा बढी मूल्य वृद्धि हुने १७ कम्पनीमा अधिकांश बीमा कम्पनीहरु रहेका छन् ।
मंगलबार ८ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ लाख ३२ हजार कित्ता सेयर किनबेच भएको छ । पछिल्लाे समय लगातार सेयर बजारमा मूल्य वृद्धि देखिएकाे छ ।