काठमाडाैं । बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्यप्रसाद सिलवालले सपथ लिएका छन् । बिहीबार उनलाई अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले सपथ गराएका हुन् ।
मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आगामी दिनमा बीमा पहुँच बढाउनुपर्ने बताएका छन् । बिहीबार बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालकाे सपथ ग्रहण कार्यक्रममा सचिव पुडासैनीले बीमाको पहुँच बढाउनुपर्ने प्रमुख जिम्मेवारी रहेको बताएका हुन् । उनले बीमा क्षेत्रमा सुशासनको समस्या रहेको भन्दै राम्रो नियमको विकास गर्नुपर्ने चुनौती रहेको पनि बताए ।
कोरोना बीमाको दाबी गर्नेहरुलाई भुक्तानी गर्नु तथा फन्डको व्यवस्थापन गर्ने चुनौती रहेको पनि उनको भनाई छ । सरकारको स्वामित्वमा रहेका दुई बीमा कम्पनीहरुलाई पारदर्शी बनाउनुपर्ने पनि उनको भनाई छ ।
बीमा समितिका नवनियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालले बिमा कम्पनीको पहुँच बिस्तारका साथै कम्पनीको विश्वसनीयता बढाउन आफु खरो उत्रिने बताए । नीतिगत कुराहरुलाई फास्टट्रयाकमा लैजान मन्त्रालयको सहयोगको अपेक्षा रहेको उनको भनाई छ ।
बीमा क्षेत्रको वर्तमा समस्यालाई समाधान गर्दै नीतिगत र संरचनालाई समिक्षा गरिने उनको भनाई छ । अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानाले नवनियुक्त अध्यक्ष सिलवाललाई शपथ खुवाएका थिए । कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।