काठमाडौं । बीमा समितिलाई बीमा अभिकर्ता लाइसेन्स वितरण रोक्न माग गरिएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा समितिले कुनै अध्ययन अनुसन्धान नगरी जथाभावी रुपमा अभिकर्ता लाइसेन्स वितरण गरेकोले त्यसलाई रोक्न माग गरेका हुन् ।
शुक्रबार समितिका नव नियुक्त अध्यक्ष सुर्य प्रसाद सिलवालको पदभार तथा स्वागत कार्यक्रममा आफ्ना धारणा राख्दै संघका अध्यक्ष तिवारीले जथाभावी रुपमा वितरण भइरहेको अभिकर्ता लाइसेन्स तत्काल रोक्न माग गरेका हुन् ।
‘बीमा समिति जथाभावी रुपमा अभिकर्ता लाइसेन्स बाँड्ने अखडा नबानाइयोस्, कति जना दक्ष तथा तालिम प्राप्त अभिकर्तालाई समितिले लाइसेन्स दिएको छ ? तालिम के हाे भनेर थाहा नभएकाहरुलाई समितिले जथाभावी लाइसेन्स दिएकाे छ, यसरी जथाभावी रुपमा लाइसेन्स नदिइयोस्,’ अध्यक्ष तिवारीले भने ।
यस्तै, उनले नेपालमा रहेकाे ३ करोड जनसंख्यामा ५ लाख अभिकर्ताहरु रहेको बताउँदै १ जना अभिकर्ताको भागमा ६० जना पर्ने बताउँदै अब विस्तारै अभिकर्ताकै रोजगारी धरापमा पर्ने बताए । कार्यक्रममा उनले बीमा शुल्क पनि घटाउनु पर्ने धारणा राखेका छन् ।
यस्तै, उनले निर्जीवन बीमातर्फको बीमा कमिसन अवैज्ञानिक भएकोले निर्जीवन व्यवसायमा पनि काम गर्न सक्ने किसिमको कमिसनको व्यवस्था गर्नु पर्ने धारणा राखे ।