काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने म्याद आज (माघ २७ गते) बाट सकिएको छ । कम्पनीले माग गरेको भन्दा बढी आवेदन परेसँगै सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले छिटो मिति अर्थात आज साँझ ५ बजेदेखि उक्त सेयर निष्काशन बन्द गरेको हो ।
कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणमा सेयर बिक्री खुला गरेको थियो । जसमा हालसम्ममा २ अर्ब ३९ करोड रुपैयाँ बढीको आवेदन परेको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आज (मंगलबार) साँझ ५ बजेसम्मको तथ्यांक अनुसार १३ लाख ३७ हजार ९४२ जना आवेदकले २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता सेयर माग गरिसकेका छन् । यद्दपि, आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट सबै आवेदन संकलन भइनसकेकोले यो तथ्यांक बढ्न सक्ने छ ।
उक्त माग कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ७.३७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा ३२ लाख ५१ हजार ६५२ कित्ता माग गरेको थियो । कम्पनीले सर्वसाधारणमा ३४ लाख ९६ हजार ४०० कित्ता सेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानिय बासिन्दाका लागि जारी गरी बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता सेयर साधारण सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने ६९ हजार ९२८ कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । र, बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि इच्छुक सर्वसाधारणमा निष्काशन गरिएको थियो ।
इच्छुक आवेदकले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई केयर एनपी बी प्लस ९आइएस० रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ ।
हाल कम्पनीको अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित क्षेत्रमा बासिन्दाका लागि निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ३ लाख ६० हजार रुपैयाँ पुगेको छ । र, सर्वसाधारण तथा कर्मचारीहरुको लागि छुट्ट्याइएको सबै सेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपेयाँ नाघ्ने छ ।