काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत पुस मसान्तसम्ममा ७४ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा चालु आवको खुद बीमाशुल्क आर्जनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ७२ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको हो ।
खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफामा पनि सुधार भएको छ । गत आवको पुस मसान्तसम्ममा २१ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सोहि अवधिमा २४ करोड १४ लाख रुपैयाँ कमाएको छ ।
१ अर्ब ५ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी बढेर एक अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा जगेडा कोष र बीमा कोषमा रकम बढेर क्रमशः ९४ करोड ७ लाख रुपैयाँ र १ अर्ब १७ करोड रुपैयाँ सञ्चित रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ३५.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६७.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.४७ गुणा रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले १ लाख ४६ हजार ६३७ बीमालेख जारी गरी २ अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीले ९ हजार ५५१ दाबीबापत १ अर्ब ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १२ हजार ६०४ दाबी बापत १ अर्ब ७१ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।
पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता २६७९ रुपैयाँमा कारोबार भएको छ ।