काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको पुस मसान्तसम्मको तुलनामा ४१ प्रतिशत बढी हो । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब ८८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै, खुद बीमा शुल्कसँगै कम्पनीको खुद नाफामा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आवको सो अवधिमा २३ करोड ६५ लाख रुपैयाँ कमाएको छ ।
३ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब २४ करोड रुपैयाँ, जीवन बीमा कोष ३८ अर्ब १ करोड रुपैयाँ र महाविपत्ती कोषमा ३० करोड २५ लाख रुपैयाँ सञ्चित रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १५.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.६८ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ७६.२५ गुणा रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले कुल ९ लाख ३ हजार ९६० वटा बीमालेखबाट कुल ५ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ११ हजार ८० वटा दाबी बापत १ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४० करोड ७१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।