काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९२.०६ प्रतिशतले खुद बीमाशुल्क बढाउन सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५७ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क गरेको कम्पनीले चालु आवको सोहि अवधिमा १ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो ।
खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ करोड १३ लाख रुपैयाँले बढी हो । कम्पनीले गत आवको पुस मसान्तसम्म ४ करोड ६५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
२ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ, जगेडा कोषमा १९ करोड ८५ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड २० लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) ५.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात ११५ गुणा बढी रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले ८ हजार ३९१ वटा बीमालेख जारी गरी कुल १ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै ३९ वटा दाबी वापत १४ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १३ वटा दाबी वापत ३५ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिन्छ ।