काठमाडौं । बीमा समितिको नयाँ अध्यक्ष बनेर पूर्व सचिव सूर्यप्रसाद सिलवाल आएपछि समितिको सक्रियता बढेको छ । बीमा क्षेत्रमा विकृति धेरै रहेको अध्यक्ष सिलवालको प्रारम्भिक बुझाईसँगै स्थलगत निरीक्षणलाई प्राथमिकतामा राखिएको छ ।
बीमा कम्पनीहरुले परिपालना गर्नुपर्ने नियाकीय निर्देशनको उल्लघन गरेको भन्दै समितिले स्थलगत निरीक्षणलाई उच्च प्राथमिकतामा राखेको हो । बीमा क्षेत्रलाई विश्वसनीय र भरपर्दाे बनाउन स्थलगत निरीक्षणलाई उच्च प्राथमिकता दिइएको अध्यक्ष सिलवालले बताए ।
‘बीमा कम्पनीहरुले कसरी काम गरिरहेका छन्, यसका वास्तविक समस्या र चुनौतिहरु के कस्ता छन्, समस्या कहाँनेर छ भन्ने जस्ता धेरै विषयमा बीमा समिति पनि जानकार नभए जस्तो अवस्था रहेछ, अहिले हामीले विभिन्न टोली बनाएर स्थलगत निरीक्षणलाई उच्च प्राथमिकता दिएका छौं, निरीक्षणमा गएको टोलीले प्रतिवेदन दिएपछि धेरै विषय स्पष्ट हुन्छ, त्यसपछि सम्भावित रणनीति अख्तियार गर्छाैं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने ।
समितिबाट खटेको टोलीले विशेष गरेर लगानी सम्बन्धी, उधारो बीमा जस्ता क्षेत्रको विशेष विवरण संकलन गर्ने बताइएको छ । यस्तै, कम्पनीहरुले नियामकीय प्रावधान पूरा गरे नगरेको जस्ता विषयमा पनि समितिले विशेष रुपमा अध्ययन थाल्ने भएको छ ।
समितिले तोकिएको समयभित्र वार्षिक साधारणसभा नगर्ने कम्पनीहरुलाई मनासिव कारण भए देखाउन र नभए तोकिएकै समयभित्र वार्षिक साधारणसभा गरिसक्न पनि ताकेता गर्न थालेको छ ।
सम्बन्धित समाचार