काठमाडौं । महिला हस्तकला मेला सम्पन्न भएको छ । १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीन दिने मेला आइतबार सम्पन्न भएको हो ।
‘हस्तकलाको प्रवद्र्धन, महिला सशक्तिकरणको सम्वद्र्धन’ भन्ने मुल नाराकासाथ ललितपुर महानगरपालिका परिसरमा यहि फागुन २२ गतेदेखि २४ गतेसम्म चलेको मेलाको समापन ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गिता सत्यालले गरेकी थिइन् ।
उप–प्रमुख सत्यालले महिला सवलिकरणमा जोड दिँदै महिलाको आर्थिक स्थिती सवल नभएसम्म महिला सवलिकरण हुन नसक्ने र त्यसको लागि पुरुषहरुको सहयोग अपरिहार्य हुने बताइन् ।
उनले हस्तकलाका सामाग्री उत्पादनले महिलाको आर्थिक उपार्जनमा टेवा पुग्ने बताइन् । महिला सशक्तिकरणका लागि आर्थिक पाटो महत्वपूर्ण हुनेभएकाले सर्वप्रथम महिलाको आर्थिक पक्ष बलियो बनाउनु पर्नेमा जोडदिइन् ।
मेलामा समापन कार्यक्रममा स्टल नं. ९ कि रुकमीणी श्रेष्ठलाई उत्कृष्ठ महिला उद्यमी रुपमा सम्मान गरिएको थियो ।