काठमाडौं । ‘सनराइज ब्लूचीप फण्ड’को इकाईमा आज (चैत १ गते) आइतबारदेखि आवेदन दिन सकिने भएको छ । सनराइज क्यापिटलले आजदेखि सनराइज म्युचुअल फण्ड अन्तर्गत ‘सनराइज ब्लूचीप फण्ड’ निष्काशन तथा बिक्री खुला गरेसँगै उक्त फण्डमा आवेदन दिन सकिने भएको हो ।
क्यापिटलले एक अर्ब रुपैयाँ आकार अर्थात १० रुपैयाँ अंकित दरको १० करोडको इकाई निष्काशन गरेको हो । जसमध्ये कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रबर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
जसमध्ये निष्काशनमा ल्याइएको इकाई न्युनतम ५ करोड इकाई बिक्री हुनुपर्ने छ भने अधिकतम १२ करोड ५० लाख कित्ता इकाई सकारिने क्यापिटलले जनाएको छ ।
‘सनराइज ब्लूचीप फण्ड’मा लगानी गर्नेले वार्षिक २२% प्रतिफल पाउने
यस योजनाको कोष प्रवद्र्धक सनराइज बैंक रहेको छ तथा योजना व्यवस्थापक सनराइज क्यापिटल हो ।
यो योजनामा इच्छुक लगानीकर्ताले एक सय इकाईदेखि अधिकतम एक करोड इकाईसम्म खरिद गर्न पाउने छन् । उनीहरूले चैत ४ गतेसम्ममा आवेदन दिन सक्नेछन् । साे अवधिभित्र सबै इकाई बिक्री नभएमा चैत १६ गतेसम्म आवेदन खुला गरिने क्यापिटलले जनाएकाे छ ।
इच्छुकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सक्नेछन् । त्यस्तै, मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरबाटै पनि आवेदन दिन पाउने व्यवस्था रहेकाे छ ।
उक्त फण्ड बन्दमूखी अर्थात क्लोज इन्डेड म्युचुअल फण्ड हो । योजना बाँडफाँड भएको मितिले १० वर्षसम्म अवधि रहेको यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म (इक्वीटी ओरिएण्टेट) अर्थात सेयरमा लगानी गर्ने छ । याे याेजनामा कोष प्रबद्र्धक सनराइज बैंकले बिक्री गर्ने कुल इकाई रकमको कम्तिमा १५ प्रतिशत अर्थात १५ करोड रकम बीज पुँजीको रुपमा लगानी गर्नेछ ।
सनराईज ब्लूचीप फण्डमा लगानी गर्ने लगानीकर्ताले औषतमा वार्षिक २२.३८ प्रतिशत प्रतिफल पाउने सनराइज क्यापिटलका सीईओ बिजयलाल श्रेष्ठले बताएका छन् । उनका अनुसार फण्डले उच्च बजार पुँजीकरण भएका कम्पनीमा लगानी गर्दछ । यस्ता कम्पनीहरु तुलनात्मक रुपमा अन्य कम्पनी भन्दा वित्तीय रुपमा सबल, संस्थागत सुशासनमा अब्बल तथा बजारको सामान्य उतार चढावले असर नगर्ने किसिमका हुन्छन् । साथै, यस्ता कम्पनीका सेयरहरुको बजारमा नियमित कारोबार हुने तथा खरिद बिक्री समेत सहज रुपमा गर्न सकिने हुन्छ । र, लामो समयसम्म नियमित तथा अधिकतम प्रतिफल दिने खालका हुने सीईओ श्रेष्ठ बताउँछन् ।
सम्बन्धित समाचार