काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स दिने संकेत गरेसँगै केही लगानीकर्ता नयाँ पुनर्बीमा कम्पनी स्थापनाको तयारीमा लागेका छन् ।
ठूला व्यवसायिक घराना पनि पुनर्बीमा कम्पनी स्थापना गर्ने तयारीमा लागेको समयमा सानो सानो पुँजी संकलन गरी धेरैको सहभागितामा नयाँ कम्पनी स्थापनाको गृहकार्य भएको छ । बीमा क्षेत्रका विज्ञहरु समेत सहभागी भएर जेन्युइन रि इन्स्यारेन्स कम्पनी स्थापनाको पहल गरिएको हो ।
कम्पनी स्थापनाको लागि पुँजी जुटाउने काम अन्तिम चरणमा पुगेको प्रस्तावित जेन्युइन रिइन्स्योरेन्स कम्पनीका अध्यक्ष बाबुराम थापाले जानकारी दिए । नयाँ कम्पनी स्थापनाको लागि काठमाडौंको पुतलीसडकमा सम्पर्क कार्यालय स्थापना गरी काम भइरहेको छ ।
कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ र अधिकृत पुँजी २० अर्ब रुपैयाँ प्रस्ताव गरिएको थापाले जानकारी दिए । कम्पनीमा संस्थागत र व्यक्तिगत लगानीकर्ताको लागि फरक अवधारणा तय गरिएको छ । कम्पनीमा संस्थापक सेयरधनीको ७० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ३० प्रतिशत सेयर छुट्टयाइएको छ ।
‘कम्पनीमा ७० प्रतिशतका दरले हुन आउने ७ अर्ब रुपैयाँमध्ये ४ अर्ब रुपैयाँ व्यक्तिगत लगानीकर्ताको र ३ अर्ब रुपैयाँ संस्थागत लगानीकर्ताको लागि छुट्टयाइएको छ, धेरैभन्दा धेरै लगानीकर्तालाई समेट्न सकियोस् भन्ने उद्देश्यले यस्तो प्रस्ताव गरिएको हो,’ थापाले भने ।
प्रस्तावित जेन्युइन रिइन्स्योरेन्स कम्पनीले संस्थागत र व्यक्तिगत लगानीकर्ताको लागि छुट्टयाएको सेयर अनुपात अहिलेसम्म अभ्यासमा रहेकोभन्दा फरक हो । अहिलेसम्म बढी सेयर संस्थागत लगानीकर्ताको लागि र कम सेयर व्यक्तिगत लगानीकर्ताको लागि छुट्टयाउने प्रचलन छ ।
प्रस्तावित कम्पनीको अध्यक्ष थापा किसान अभियानमा लागेका अभियान्ता तथा अभियान लघुवित्त वित्तीय संस्थाको संचालक समिति अध्यक्ष हुन् । यस्तै, ३ सयभन्दा बढी सदस्य रहेको समुन्नती इन्भेष्टमेन्ट कम्पनीका प्रबन्ध संचालक पनि हुन् ।
जेन्युयन रिइन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रका ४ जना विज्ञ समेटेर विज्ञ समुह पनि गठन गरेको छ । समुहमा बीमा विज्ञ रविन्द्र घिमिरे, बीमा क्षेत्रमा ५८ वर्ष काम गरेको अनुभव हासिल गरिसकेका केबी बस्नेत र बीमा समितिको कामु कार्यकारी निर्देशकबाट अवकाश पाएका श्रीमान् कार्की छन् ।
कम्पनीको प्रमोटर हुनको लागि व्यक्तिगत लगानीकर्ताको लागि कम्तिमा २५ लाख र बढीमा १० करोड रुपैयाँसम्म लगानी गर्न पाउने सीमा तोकिएको छ । यस्तै, संस्थागत लगानीकर्ताको लागि चुक्ता पुँजीको कम्तिमा ०.५ प्रतिशतको सीमा तोकिएको छ ।
प्रस्तावित कम्पनीको लागि तोकिए अनुसारको पुँजी लगानीका लागि प्रतिवद्धता प्राप्त भइसकेको कम्पनीका विज्ञ समुह सदस्य कार्कीले जानकारी दिए । कम्पनीले संस्थागत लगानीको लागि बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी संचयकोष जस्ता संस्थाहरुलाई प्रस्ताव पठाएको थियो ।
कम्पनीले प्रस्ताव पठाए अनुसार एक दर्जनभन्दा बढी बाणिज्य बैंकहरु तथा अधिकांश बीमा कम्पनीहरुबाट प्रतिवद्धता प्राप्त भइसकेको कार्कीले जानकारी दिए ।
नेपालमा बार्षिक १ खर्ब रुपैयाँ जतिको पुनर्बीमाको बजार छ । यसमध्ये अहिले संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीले कुल बजारको ३४ प्रतिशत पुनर्बीमा गराउँदै आएको छ । नेपाल पुनर्बीमा कम्पनीले गराएको पुनर्बीमामा पनि आफूले लिन सक्ने क्षमताभन्दा बढीको जोखिम अन्य देशका पुनर्बीमा कम्पनीलाई प्रदान गरेको कारण कुल पुनर्बीमा बजारको २५ प्रतिशतको हाराहारीमा मात्रै सो कम्पनीले व्यवसाय गरिरहेको बताइएको छ ।