काठमाडाैं । नेपाल सरकारले उखु किसानहरुको उखु विक्री तथा भुक्तानीको समस्याको दीर्घकालिन समाधान निकालेको बताएको छ । उखु किसानको समस्या सरकारको काम, कारबाही र प्रतिष्ठाको विषय बनिरहेकाे बेला सरकारले यस्ताे भनेकाे हाे ।
सरकारले भुक्तानीको लागि व्यवसायीहरुलाई दबाब दिए पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । यसै बिचमा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा आर्यलले उखु किसानको भुक्तानी समस्याको दिर्घकालिन समाधान फेरी नदोहोरिने गरी निकालेको बताएकी छिन् ।
मन्त्री अर्यालले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप सेवा/सुविधा, अनुदान उपलब्ध गराउने गरी योजना बनाइएको बताइन् । उनले भुक्तानी बक्यौता ८५ प्रतिशत भइसकेको र कृषि मन्त्रालय आफैले भुक्तानी गर्न बाँकी रहेको करिब २ करोड रुपैँया समेत किसानको खातामा गएको उनले बताइन् ।
किसानहरुले फेरि यस प्रकारको समस्या झेल्न नपरोस् भनेर अनिवार्य दर्ता हुनुपर्ने व्यवस्था गरिने र किसानले पाउने अनुदानमा बिचौलिया घुस्ने र दुरुपयोग गर्ने अवस्था उखु किसान दर्ता हुनासाथ हट्ने उनी बताउँछिन्
उनकाे अनुसार किसान दर्ता प्रक्रियामा आएपछि सरकारले दिने अनुदान किसानको बैंक खातामा जानेछ । यससँगै किसानलाई उखुको उन्नत जातको बिउ उपलब्ध गराउन मित्र राष्ट्र भारतबाट ल्याउने गरी परराष्ट्र मन्त्रालय मार्फत कृषि मन्त्रालयले काम अगाडी बढाइ सकेको पनि मन्त्री अर्यालले बताइन् ।
यसैगरि कृषि मन्त्रालयले नार्क मार्फत उखु उत्पादन हुने १२ वटा जिल्लामा उखुको ब्रिडिङ गर्ने कामको थालनी भइसकेको उनले जानकारी दिइन् । सरकारले थालनी गरेको कामले उखुको उत्पादन तथा बजार व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेल्ने मन्त्री अर्यालले बताइन् ।