काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ प्रक्रियाबाट साधारण सेयर (आइपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रयोजनको लागि निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिसकेको छ । सहनिष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एसबीआई क्यापिटल छन् ।
नेपालमा अहिलेसम्म विशेष गरेर अंकित मूल्य बराबरमा र प्रिमियम मूल्य जोडर आइपीओ जारी गर्ने अभ्यास छ । नयाँ अभ्यासको रुपमा बुक विल्डिङ प्रक्रिया पनि थपिएको छ । नयाँ विधि भएकोले यसका बारेमा धेरै शंका, अस्पष्टता र संसय छन् ।
जस्तो कि सर्वाेत्तमले आफ्नो आइपीओको आशय मूल्य प्रतिकित्ता ७५० रुपैयाँ भनेको छ । यो भनेको कम्पनीले मेरो सेयरको अहिलेको मूल्य यति छ भनेको हो । कम्पनीले विक्री गर्ने आइपीओ कति रुपैयाँमा विक्री हुन्छ भन्ने यकिन छैन । बुक विल्डिङ विधिमा सहभागी कम्पनीले तय गर्ने कटअफ मूल्य प्रतिकित्ता ७५० रुपैयाँभन्दा बढी भयो भने कम्पनीका लागि राम्रो भयो ।
तर, बुक विल्डिङ विधिमा कम्तिमा पनि १० वटा क्यालिफाइड इन्ष्टिचुसनल इन्भेष्टर (क्युआईआई) सहभागी भएर मूल्य तह हुनुपर्छ । यसरी मूल्य तह हुँदा कम्पनीको अहिलेको आशय मूल्य (प्रतिकित्ता ७५० रुपैयाँ) भन्दा कम भयो भने सर्वाेत्तम सिमेन्ट आइपीओ जारी गर्न तयार हुन्छ कि हुँदैन ?
फेरि अहिले बजारमा अर्काे हल्ला पनि फैलिएको छ । त्यो हल्ला के हो भने कटअफ मूल्य प्रतिकित्ता ७५० रुपैयाँ कायम गरिदिने शर्तमा ग्लोबल आइएमई क्यापिटलले सर्वाेत्तमको निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पाएको छ । यो हल्लाले बुक विल्डिङ विधिमा केही समस्या सिर्जना गर्न सक्छ । जस्तो कि अहिले कम्पनीले तय गरेको आशत मूल्य नै कटअफ मूल्यको रुपमा आयो भने ‘म्याच फिक्सिङ’को आरोप लाग्नेछ । बढी भयो भने पनि झन् अर्काे प्रकारको आरोप लाग्न सक्छ । कम भयो भने कम्पनी त्यो मूल्यमा आइपीओ जारी गर्न तयार नहुन सक्छ । यसैपनि शंकालु नेपाली समाजलाई बुक विल्डिङ विधिको जग बसाउन सर्वाेत्तमले पहिलो पटक अपजसे काममा हात हाल्नु परेको छ ।
मूल्य तय गर्नको लागि गरिने विडिङ प्रक्रिया कत्तिको पारदर्शी र कम विवादास्पद हुन्छ भन्ने अर्काे प्रश्न छ । यो काम निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई सहित प्रभु र एसबीआई क्यापिटलले बहुसंख्यक लगानीकर्ता र विश्लेषकलाई कसरी ‘कन्भिन्स’ गर्न सक्छन् भन्ने अर्काे संसय पनि छ ।
बुक विल्डिङ बिधिबाट आइपीओ जारी गर्दा नियामक निकायको भूमिका निकै कमजोर हुन्छ । बजारले तय गरेको मूल्य नियामक निकायले स्वीकार गर्नुपर्छ । तर, हाम्रो पुँजी बजारलाई अर्थतन्त्रको ऐना मानिदैन । किनभने आज पनि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशतको हाराहारीमा छ । नेपाली पुँजी बजारमा कृषि क्षेत्रका कम्पनीको उपस्थिति छैन भन्दा पनि हुन्छ । अर्थतन्त्रमा एक चौथाई योगदान भएको क्षेत्रको उपस्थिति नै नभएको बजारलाई अर्थतन्त्रको ऐन भन्नु उपयुक्त पनि हुँदैन ।
समस्या अर्काे पनि छ । दोस्रो बजारमा मूल्य निकै माथि पुगेका कम्पनीको अवस्था निकै दयनीय भएको वित्तीय विवरणहरु सार्वजनिक भइरहेका हुन्छन् । मूल्य निकै कम भएका कम्पनीहरुको वित्तीय विवरण निकै सन्तुलित र राम्रो पनि देखिन्छ । यस्ता उदाहरणले नेपाली पुँजी बजार अपरिपक्क हो कि भन्ने शंका गर्न सकिने ठाउँ छ । बजार अपरिपक्क हो भने अपरिपक्क बजारले निर्धारण गर्ने मूल्य सही भनेर मान्न सकिदैन होला ।
अर्काे प्रश्न भनेको कम्पनीको नियमन हो । अहिले दोस्रो बजारमा प्रभावकारी नियमन भएका बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको बलियो उपस्थिति छ । सिमेन्ट उद्योग जस्ता उद्योग र उत्पादनमुलक क्षेत्रको नियामक बलियो छैन । अझ नियामक नै छैन भन्दा पनि हुन्छ । नियामकले प्रभावकारी रुपमा नियमन नगर्ने क्षेत्रलाई आइपीओ जारी गर्न (त्यसमा पनि बुक विल्डिङ प्रक्रियाबाट) दिँदा जोखिम बढी हुन्छ कि भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ आइसकेको छैन ।
यस्तै शंका लगानीकर्ताहरु गरिरहेका छन् । सर्वाेत्तमको आइपीओ आउने प्रक्रिया भर्खर सुरु भएकोले अहिले नै प्रतिक्रिया दिनुभन्दा पनि अब के के हुन्छ, कसरी हुन्छ भन्ने कुरा ध्यानपूर्वक हेर्नुपर्ने लगानीकर्ताको भनाइ छ ।
‘एकाधिकारी बजार पाएको गोरखकाली रबर उद्योग बन्द भएको देश हो यो, आइपीओ जारी गरिसकेपछि सर्वाेत्तम सिमेन्टले वार्षिक २५ करोड रुपैयाँ तलब दिने गरी सिइओ नियुक्त गरें भन्यो भने त्यसको नियमन कसले गर्ने ? कम्पनीका अन्य आन्तरिक गतिविधिको नियमन गर्ने कसले ? आज बुक विल्डिङ विधिबाट महंगोमा आइपीओ जारी गर्ने र केही महिनापछि नै कम्पनी आर्थिक रुपमा धराशायी भयो भनेर संचालकले उद्योग बन्द गरिदिए भने सर्वसाधारण लगानीकर्ता त मर्ने नै भए,’ एक लगानीकर्ताले भने ।
तर, बुक विल्डिङ विधिबाट आइपीओ जारी भएको अन्तराष्ट्रिय अभ्यासबारे पनि जानकार मुक्ति अर्याल भने यो विधि नै वैज्ञानिक भएको बताउँछन् ।
‘सर्वाेत्तम सिमेन्टका संचालकलाई खुसी पार्न वा उनीहरुको स्वार्थ पूरा गर्नको लागि नै कम्तिमा १० वटा क्युआईआईले आफ्नो कम्पनीलाई धरापमा पारेर बढी मूल्य तय गरिदेलान् भनेर शंका गर्नु उपयुक्त हुँदैन, प्रिमियमा आइपीओ जारी गर्दा नियामक निकायले मूल्य तोकिदिन्थ्यो भने बुक विल्डिङ विधिमा बजारले मूल्य तय गर्छ, एउटा नियामकले तय गर्ने मूल्यभन्दा बजारले तय गर्ने मूल्य वैज्ञानिक हुन्छ, त्यसैले पहिलो पटक भएकोले कसैलाई शंका लागेको छ भने बेग्लै कुरा हो, तर डराउनु पर्ने विषय भने होइन,’ पुँजी बजार विज्ञ अर्यालले भने ।
पुँजी बजारबारे जानकार दिलिप मुनंकर्मी पनि पहिलो अभ्यास भएकोले के होला कस्तो होला भन्ने जिज्ञासा बढेको हुन सक्ने बताउँछन् ।
‘हामी पहिलो पटक बुक विल्डिङ विधिबाट आइपीओको मूल्य तय गर्दैछौं, त्यसैले केही प्रश्न र कौतुहलता देखिनु स्वभाविक नै हो, क्युआईआईले तय गरेको मूल्य, त्यसको औचित र तथ्यका विषयमा चित्तबुझ्दो जवाफ पाएपछि यस्ता प्रश्न त्यसै हराएर जान्छन्,’ मुनंकर्मीले भने ।
तर, पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड बलियो हुनुपर्नेमा अर्याल र मुनंकर्मी दुबैको जोड छ । बलियो नियामक निकायले मात्रै बजारमा हुन सक्ने अस्वस्थ र अपारदर्शी गतिविधि रोक्न सक्ने उनीहरुको भनाइ छ ।
‘हिजोको दिनमा कम्तिमा १० कित्ताको लागि आवेदन दिदा हुन्थ्यो, मूल्य प्रतिकित्ता एक सय रुपैयाँ मात्रै थियो, यसो हुँदा एक हजार रुपैयाँको मात्रै जोखिम थियो, बुक विल्डिङ विधिबाट आउने आइपीओ कम्तिमा ५० कित्ता किन्नुपर्छ, अहिले सर्वाेत्तम सिमेन्टको मूल्य ६ सय रुपैयाँ मात्रै भयो भने पनि जोखिम त ६ गुणाले बढ्यो नि, त्यसैले नियामक निकाय अझ बलियो र आवश्यक जनशक्ति तथा तथ्य तथ्यांकले सुसज्जित हुनुपर्छ,’ मुनंकर्मीले भने ।
सम्बन्धित समाचार