विद्यार्थीको सुरक्षा गर्दै राष्ट्रिय बीमा कम्पनी, घरबाट निस्केदेखि नपुग्दासम्मको जोखिम कभर

<p>काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले स्वीकृति पाएको एक वर्षपछि ‘विद्यार्थी सुरक्षा बीमालेख’ शुरु गरेको छ । २०७६ साल चैत अगाडि नै बीमा समितिबाट स्वीकृति पाएको कम्पनीले २०७७ चैत ३ गतेदेखि उक्त योजना सञ्चालनमा ल्याएको हो । विश्वव्यापी कोरोनाका महामारीका कारण भएको लकडाउनले गर्दा उक्त बीमालेख सञ्चालनमा ल्याउन समय लागेको र अहिले आगामी शैक्षिक सत्रलाई लक्षित [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले स्वीकृति पाएको एक वर्षपछि ‘विद्यार्थी सुरक्षा बीमालेख’ शुरु गरेको छ । २०७६ साल चैत अगाडि नै बीमा समितिबाट स्वीकृति पाएको कम्पनीले २०७७ चैत ३ गतेदेखि उक्त योजना सञ्चालनमा ल्याएको हो ।

विश्वव्यापी कोरोनाका महामारीका कारण भएको लकडाउनले गर्दा उक्त बीमालेख सञ्चालनमा ल्याउन समय लागेको र अहिले आगामी शैक्षिक सत्रलाई लक्षित गर्दै उक्त योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले चैत ३ गते काठमाडौं कोटेश्वरको नरेफाँटस्थित लालिगुराँस बाटीका माध्यमिक विद्यालयबाट उक्त बीमालेखको शुरु गरेको हो । उक्त विद्यालयको प्रधानाध्यापक र प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र प्रबन्धकले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

शुरुकै दिन सो विद्यालयमा अध्ययरत कक्षा नर्सरीदेखि १२ सम्मका कूल ८ सय ४ जना विद्यार्थीले उक्त बीमालेख खरिद गरेका कम्पनीका नायवप्रबन्धक माधव उपाध्यायले बताए । प्रतिविद्यार्थी एक लाख रुपैयाँको दरले उक्त बीमा गरिएको उपाध्यायले जानकारी गराए ।

‘बीचमा कोरोना भएकाले स्वीकृति पाएको करिब एक वर्षपछि बीमालेख कार्यान्वयनमा आएको छ । शुरुवात भएसँगै उपत्यका बाहिरका विद्यालयहरु पनि यो बीमालेखमा धेरै नै इच्छुक रहेका छन् । अब आगामी दिनमा देशभरका विभिन्न विद्यालयहरुमा पनि लैजाने तयारी रहेको छ’, नायव प्रबन्धक माधव उपाध्यायले थपे ।

के हो विद्यार्थी सुरक्षा बीमालेख ?

यो बीमालेख कुनै पनि शैक्षिक संस्थाले विद्यार्थीलाई कभरेज प्रदान गर्न गरिन्छ । जहाँ संस्थाले प्रीमियम तिर्नुपर्नेछ । र, विद्यार्थीलाई केहि भयो भने त्यो कभर अभिभावकलाई दिइनेछ ।

किन ल्याइएको हो ?

कम्पनीले नेपालका सार्वजनिक तथा निजी विद्यालय क्याम्पस तथा संस्थाहरुमा अध्ययनरत विद्यार्थीको जोखिमलाई मध्यनजर गरि ‘विद्यार्थी सुरक्षा बीमालेख’ ल्याएको हो ।

विद्यार्थी सुरक्षा बीमा पोलिसी विद्यार्थीलाई प्रस्ताव गरिन्छ र उनीहरूको फाइदाको लागि शैक्षिक संस्थाहरू जस्तै स्कूल, कलेजहरू आदिले प्रयोग गर्न सक्नेछन् । यो पोलिसी शैक्षिक संस्थाको नाममा जारी गरिएको हुन्छ र दावी रकम बिमित विद्यार्थीको अभिभावकलाई भुक्तान गरिन्छ ।

यो बीमालेखमा ‘बिमित’ भन्नाले बीमा प्रस्ताव गर्ने प्रस्तावक संस्थाले प्रस्ताव फारामसँगै बिमितको सूचीमा आवश्यक विवरणसहित संलग्न गरेका विद्यार्थीलाई बुझिन्छ ।

शैक्षिक संस्थाले एकपटक विद्यार्थी सुरक्षा बीमा पोलिसी खरिद गरेपछि उक्त संस्थाका सबै विद्यार्थीको कभर हुनेछ । थप विद्यार्थीलाई कभर गर्नको लागि संस्थाले थप प्रिमियम तिर्नुपर्छ ।

यो बीमालेखले विद्यार्थी घरबाट निस्केदेखि स्कूलमा गएर स्कूल छुट्टी भएर घर नफर्केसम्मको जोखिम कभर हुने छ । त्यस्तै, स्कुलले आयोजना गरेका विभिन्न कार्यक्रमहरु (जस्तै, खेलकुद, पिकनिक (वनभोज), भ्रमण आदि) मा भएको दुर्घटनाहरु पनि यो बीमालेखमा कभर हुनेछ ।

‘दुर्घटना’ भन्नाले बाहिरी, आँखाले स्पष्ट देख्न सकिने र सांघातिक माध्यमबाट हुने आकस्मिक र अप्रत्यासित घटना हो । साथै, यसले बद्नियतपुर्ण (बदनाम गराउने) तथा फिरौती अशुलीका लागि गरिने अपहरणजन्य कार्यबाट हुने मानवीय क्षतिलाई समेत जनाउने उक्त बीमालेख निर्देशिकामा उल्लेख छ । तर, कम्पनीले फिरौती रकम दिँदैन, फिरौती रकम माग्ने क्रममा सम्बन्धित विद्यार्थीको शरीरको हानी नोक्सानी भयो भने यो बीमालेखले कभर गर्ने छ ।

दावी भुक्तानी १ सय ८३ दिन भित्रै

कम्पनीले बिमितको मृत्यु भएको वा दुर्घटना घटेको १ सय ८३ दिनभित्र निजको परिवारलाई दावी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।

कस्तो अवस्थामा कति भुक्तानी गर्छ ?

यस अन्तर्गत बिमितको मृत्यु भएमा वा स्थायी अंगभंग भएको अवस्थामा कम्पनीले बीमांक रकम अनुसारको दावी भुक्तानी गर्छ । बिमितको मृत्यु भएमा, स्थायी पूर्ण अशक्तता भएमा, निको नहुने गरी दुबै आँखाको दृष्टि पूर्णक्षति भएमा, दुबै हातको नाडी वा दुबै खुट्टाको गोलो गाँठोको जोर्नी वा सोभन्दा माथिदेखि शारीरिक रुपमा काम नलाग्ने भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाठोको जोर्नी वा सोभन्दा माथिदेखि र एउटा आँखाको दृष्टि पूर्णरुपले क्षति भएमा बीमितको परिवारले बीमांक रकम अनुसारको दावी भुक्तानी पाउने छन् ।

जस्तै, बिमितले १ लाख रुपैयाँ बराबरको बीमा गरेको थियो, उसको माथि उल्लेखित मध्ये कुनै एक अवस्था भएमा कम्पनीले पनि १ लाख रुपैयाँ बराबरकै भुक्तानी गर्नुपर्छ । कम्पनीले बिमितको उक्त दुर्घटना घटेको १ सय ८३ दिनभित्र निजको परिवारलाई बीमांकको शतप्रतिशत रकम नै भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।

त्यस्तै, एउटा आँखाको दृष्टि पूर्णरुपले क्षति भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सोभन्दा माथिदेखि शारीरिक रुपमाले काम नलाग्ने गरि क्षति भएमा, बोल्ने क्षमता पूर्णरुपले क्षति भएमा र दुबै कानको सुन्ने शक्ति पूर्णरुपले क्षति भएमा तोकिएको बीमांकको ५० प्रतिशत रकम निजको परिवारले पाउने छन् ।

त्यसैगरी, दुर्घटनाबाट बिमितको एउटा कानको सुन्ने शक्ति र हातको बुढी औंलाको पूर्णरुपले क्षति भएको केशमा कम्पनीले २० प्रतिशत रकम भुक्तानी गर्ने छ ।

हातको चोरी औंलाको पूर्णरुपले क्षति भएमा १५ प्रतिशत र हातको अरु कुनै औंलाको पूर्णरुपले क्षति भएमा प्रतिऔंला ७ प्रतिशत रकम भुक्तानी दिने कम्पनीले जनाएको छ ।

त्यसैगरी, खुट्टाको बुढी औंलाको पूर्णरुपमा क्षति भएमा बीमांकको ५ प्रतिशत र अन्य कुनै औंलाको क्षति भएमा प्रतिऔंला ४ प्रतिशत रकम कम्पनीले दावी भुक्तानी गर्ने छ ।

अन्य कुनै अंगभंग भएमा सम्बन्धित विशेषज्ञले शारीरिक क्षतिको समानुपातिक हुने गरी निर्धारण गरेको आधारमा भुक्तानी गरिने व्यवस्था रहेको छ ।

अस्थायी पूर्ण अशक्तता भएमा

अस्थायी पूर्ण अशक्तता कायम रहेको अवधिभरको लागि बीमाङ्कको १ प्रतिशत वा बिमितको साप्ताहिक आयमध्ये जुन कम हुन्छ सो रकम प्रतिहप्ता कम्पनीले भुक्तानी गर्ने छ । तर, यस्तो रकमको योगफल अनुसूचीमा उल्लेखित बीमाङ्क भन्दा बढी हुने छैन र अस्थायी पूर्ण अशक्तता भएको अवस्थामा बीमितले अन्य कुनै पनि बीमाबाट निजको आयको नोक्सानी बापत दावी भुक्तानी पाउने प्रमाणित भएमा कम्पनीले भुक्तानी गर्दा बीमाङ्कको समानुपातिक हिसावले भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

औषधि उपचार खर्च पनि

यो बीमा पोलिसी अन्तर्गत बिमितको दुर्घटना भएमा कम्पनी उपचार खर्च उपलब्ध गराउने छ । दुर्घटना भएको, अंगभंग भएन तर हस्पिटलाइज्ड भएर उपचार गर्नुपर्ने अवस्थामा बीमांकको १० प्रतिशतसम्म औषधि उपचार खर्च पनि पाइने कम्पनीले जनाएको छ । तर यो रकम एक लाख रुपैयाँभन्दा बढी भने हुने छैन ।

साथै, विभिन्न घटनामध्ये एकभन्दा बढी घटना भएमा बीमकको दायित्व प्रत्येक घटनाको लागि निर्धारित रकमको योगफल बराबर हुने छ । तर यो बीमालेख अन्तर्गत कम्पनीले भुक्तानी गर्ने रकम तोकिएको बीमाङ्कभन्दा बढी हुने छैन ।

विद्यार्थी सुरक्षा बीमालेखमा न्यूनतम बीमाङ्क रकम एक लाख रुपैयाँ तोकिएको छ । त्यस्तै, अधिकतम भने कम्पनीको जोखिममाङ्कको नीतिअनुसार जति पनि गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

विद्यार्थी सुरक्षा पोलिसीले कस्तो दुर्घटनाको जोखिम समेट्दैन ?

यो बीमालेखले जानी जानी आफैले गराएको चोट, आत्महत्या वा आत्महत्याको प्रयास, मादक पदार्थ वा लागु औषधिका प्रभावको कारणबाट भएको मृत्यु वा चोटपटकको भुक्तानी गर्दैन ।

त्यस्तै, प्रचलित कानुन बमोजिम अनुमति प्राप्त हवाई जहाजमा यात्रीको रुपमा यात्रा गरेकोमा बाहेक अन्य उडान, कावा खाने खेल व्हील रेश, घोड दौड, बन्जी जम्पिङ, प्याराग्लाईडिङ वा मोटरसाईकल दौड, पोलो, सिकार (स्कुवा ड्राइभिङ्ख) पर्वतारोहण, हाइकिङ्ग, निसानावाजि, पागलपन जस्ताको भुक्तानी नगर्ने बीमालेखमा उल्लेख छ ।

त्यसैगरी, बिमितबाट कुनै प्रचलित कानुन भंग गरेको परिणामबाट, दुर्घटनाबाट नभई उद्वेग वा स्नायु सम्वन्धी चोट, मानव जीवन रक्षा गर्ने प्रयास गर्दा बाहेक नचाहिँदो खतरा मोल्ने कार्य गर्दाको जोखिमको भुक्तानी पनि यो बीमालेखबाट हुँदैन ।

युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही (युद्ध घोषणा भएको होस् वा नहोस्) गृह युद्ध, राजद्रोह, क्रान्ति, सत्ता विद्रोह, सैनिक विद्रोहीको कारणबाट बिमितको मृत्यु भएमा वा चोटपटक लागेमा, हुलदंगा, हड्ताल, द्धेषपूर्ण कार्य र आतंकवाद भएमा यसमा कभर नहुने निर्देशिकामा उल्लेख छ ।

Share News