काठमाडौँ। पछिल्लो दुई महिना यता बजारमा खाने तेल लिटरमा नै ४० रुपैयाँसम्म वृद्धि भएको छ । उद्योगीहरु अन्तराष्ट्रिय रुपमा नै तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा वृद्धि हुन गएको भन्दै बाहाना बनाउँदै आएका छन् ।
अस्वभाविक रुपमा तेलको मूल्यमा वृद्धि भएपछि बजार अनुगमनको नियामक निकायको रुपमा रहेकाे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उद्योगीसँग पहिलो चरणमा प्रज्ञापनपत्र मगाएर अनुसन्धान गरेको थियो ।
उक्त अनुसन्धानमा केही उद्योगीले महङ्गोमा कच्चा पदार्थको आयात गर्दा मूल्यमा वृद्धि भएको र केहीले अनावश्यक रुपमा मूल्य वृद्धि गरेकाे भन्दै तत्काल बढेको मूल्य घटाउन विभागले निर्देशन दिएको थियो । केही उद्योगीले मूल्य घटाएपनि धेरै उद्योगीले मूल्य घटाएका थिएनन् ।
करिब एक महिनासम्म बढेको मूल्य नघटेपनि पुन विभागले उद्योगीसँग छलफल गरी खाने तेलको मूल्य बढाउने तेल उद्योगीलाई मूल्य घटाउन निर्देशन दिएको छ । केही उद्योगीले आफुखुशी तेलको मूल्य बढाएपछि विभागले फागुन पहिलो साता उद्योगीलाई बढाएको मूल्य घटाउन निर्देशन दिएको थियो ।
दुई पटकसम्म मूल्य नघटाएपछि विभागले गत साता तेल उद्योगीसँग पुनः तेस्रो पटक तेलको मूल्य वृद्धिको सम्बन्धमा छलफल गरेको छ । उक्त छलफलमा व्यवसायीलाई बढेको मूल्य घटाउन अन्तिसम निर्देशन दिइएको जनाएको थियो ।
छलफलमा सहभागी विभागका एक अधिकारीले भने, ‘पटक-पटक विभागले व्यवसायीलाई बढाएको तेलको मूल्य घटाउन निर्देशन दिँदा वेवास्ता भयो, अन्तर्राष्ट्रिय रुपमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि भएको बाहाना बनाउने आफूखुशी मूल्य बढाएपछि हामीले उद्योगमा नै छापा हान्ने तयारी गरेका छौँ, अनुगमनका क्रममा गल्ती भेटिए तत्काल कारवाही गछौँ ।’
विभागले उद्योगमा नै छापा हान्ने जनाएपछि तेल उद्योगीले विभागले जवर्जस्ती अनुगमन गरे आयात नै बन्द गर्ने चेतावनी समेत दिएका थिए । विभागका कर्मचारीका अनुसार छलफलमा सहभागी उद्योगीहरुले विभागले उद्योगमा अनुगमन गरे आयात बन्द गरी बजारमा अभाव सिर्जना गराउने धम्की समेत दिएका थिए ।
‘आफूखुशी तेलको मूल्य बढाउने, मूल्य घटाउन निर्देशन दिँदा उल्टै आयात नै रोक्छौँ भनेर धम्की दिएका छन्, बजार अनुगमनको सम्पूर्ण अधिकार हामीलाई छ, तर हात्तिको देखाउने दाँतभन्दा बाहेक अरु केही हुन सकेको छैन्, हामीसँग दाँत त छ दातँ हेरेर शिकारी भाग्ने अवस्था छैन’, तीन कर्मचारीले दुखेसाे गरे,’ ‘अधिकार हामीलाई छ, तर अधिकारको प्रयोग गर्दा उल्टै माथिल्लो निकायबाट धम्की आउँछ, हाम्रो सुरक्षा छैन, गल्ती गर्नेलाई कसरी कारवाही गर्न ।’
तेल उद्योगीहरुले भने बाध्य भएर तेल लगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा बृद्धि गर्नुपरेको बताउँदै आएका छन् । उद्योगीले विभागमा माथिल्लो निकायको निर्देशनको पालना गर्दै आएको भन्दै विभागले केही गर्न नसक्ने जनाएका थिए ।
संसद विघटनको समयमा भएका जुलस र आन्दोलनमा धेरै खर्च भए । उद्योगीले उक्त खर्च बराबरको रकम चन्दा दिइसकेका छन् । चन्दा दिइएको रकम उसुल्न दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरेका हुन् । मूल्य वृद्धिको विषयमा सरकार र तालुकदार मन्त्रीले समेत केही नबोलेका उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।
अन्तराष्ट्रिय रुपमा नै मूल्य बृद्धि
अन्तर्राष्ट्रिय रुपमा नै तेलको मूल्य बढेका कारण नेपालमा खाने तेलको मूल्यमा वृद्धि भएको उद्योगीहरुको भनाई छ । तेल उद्योगीका अनुसार हाल अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा धेरै सनफ्लावर तेलको मूल्य आकाशिएको छ । गत साउनभन्दा अगाडिसम्म अन्तर्राष्ट्रिय रुपमा प्रति मेट्रिक टन ५ सय डलर रहेको तेलको मूल्य हाल १३ सय ८० पुगेको छ ।
अन्तर्राष्ट्रिय रुपमा नै तेलको मूल्यमा भारी वृद्धि हुँदा नेपालमा मूल्य बढुनु स्वभाविक भएको भन्दै मूल्य घटाउनभन्दा तेलको आयात नै बन्द गर्ने अवस्था आएको उनीहरु बताइरहेका छन् ।
उद्योगीहरुले विभागमा बताए अनुसार प्रति प्याक ( दश लिटर) सनफ्लावर तेलको फ्याक्ट्री कष्ट नै २३ सय बढी पर्न आउँछ । यसैगरी फ्याक्ट्री कष्टमा प्याकेजिङ, डिलर, सब डिलरको कष्ट जोड्दा प्रति प्याकेज २५ सयभन्दा बढी हुन्छ ।
विभागले यसअघि खाने तेलको मूल्य बढाएको भन्दै बारामा सञ्चालित अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालि लाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही स्वरुप तीन/तीन लाख जरिवाना गरेको थियो ।