काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना बीमा नहुने नहुने संकेत गरेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न आयोजित कार्यक्रममा उनले काेराेना बीमा गर्न आवश्यक नभएकाे धारणा राखेका हुन् ।
उनले सरकारले कोरोना भाइरस संक्रमितकाे पीसीआर परीक्षण र उपचार निःशुल्क गरेको बताउँदै उनले त्यसमा कोरोना बीमा गर्न आवश्यक नभएको तर्क गरे ।
‘हामीले कोरोना भाइरसको परीक्षण र उपचार नि:शुल्क गर्यौं, त्यसैमा कोरोना बीमा पनि ल्याऔं, परीक्षण र उपचार निःशुल्क हुन्छ भने कोरोना बीमा किन आवश्यक,’ उनले प्रश्न गरे ।
उनले अब यसबारे पुनर्विचार गर्नु पर्ने धारणा राखे । विभिन्न बीमा कम्पनीहरुले एक वर्ष समायाविधको लागि मात्रै कोरोना बीमा पोलिसी ल्याएका थिए । त्यसको अवधि चैत मसान्तसम्म मात्रै छ । धेरैले पुनः कोरोना बीमा सुरु हुन्छ कि भन्ने अनुमान गरेका थिए । तर, प्रधानमन्त्री ओलीले भने यस्तो तर्क दिएका हुन् ।
बीमा समितिले गत वर्ष बैशाखदेखि कोरोना भाइरस सम्बन्धी बीमालेख जारी गरेको थियो । कोरोना भाइरस महामारीको रुपमा आएको र सानो रकमबाट संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस् भन्ने उद्देश्यले बीमालेख जारी गरिएको थियो ।