काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।
बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले ३९ लाख ८६ हजार रुपैयाँ नगद लाभांश पनि वितरण गर्ने भएको छ ।
कम्पनीले बोनस सेयर वितरण गरेपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । १०० कित्ता बराबर ४० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले आगामी साधारणसभामा लैजादैछ ।
कम्पनीले २३ औं वार्षिक साधारणसभा बैशाख १० गते केन्द्रीय कार्यालय नक्सालमा बोलाएको छ ।
साथै, कम्पनीले ९ प्रतिशत प्रमोटर सेयरलाई पब्लिक बनाउने छ । कम्पनीमा हाल ६० प्रतिशत प्रमोटर सेयर रहेकोमा ९ प्रतिशत पब्लिकमा परिणत गरी ५१ प्रतिशत प्रमोटर सेयर बनाउन लागिएको कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर पुँजी एक अर्ब ६२ करोड रुपैयाँ भन्दा बढी हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८ करोड रुपैयाँ छ । बोनस सेयर निष्काशन गर्दा १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ हुनेछ । त्यसपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ हुनेछ ।