काठमाडौं । रु रु जलविद्युत परियोजनाको आईपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज(चैत २४ गते) अन्तिम दिनसम्ममा १६ लाख ६९ हजार ५६६ जनाले कम्पनीको सेयर भरेका हुन् ।
क्यापिटलका अनुसार चैत २४ गते मंगलबार साँझसम्ममा १६ लाख ६९ हजार ५६६ जना आवेदकले संस्थाको २ करोड ३३ लाख ७७ हजार २२० कित्ता सेयर माग गरेका छन् । जुन, कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ६१.६५ गुणा बढी आवेदन हो । यद्यपि यो तथ्यांक बढ्न सक्ने क्यापिटलले जनाएको छ ।
कम्पनीले चैत २० गतेदेखि सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता सेयरको बिक्री खुला गरेको थियाे । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेकाे हाे ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । संस्थाले स्थानियमा भने अंकित मूल्य १०० रुपैयाँमै सेयर बिक्री गरेको थियो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशत तथा बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख रुपैयाँ नाघ्ने छ ।