काठमाडौं । चालु आर्थिक वर्ष साधारण सेयर (आईपीओ) भर्न चाहनेहरुको लागि उत्तम वर्ष भएको छ । यो वर्षको अहिलेसम्म साढे ११ अर्ब रुपैयाँभन्दा बढीको आईपीओ आइसकेको छ भने करिब ६ अर्ब रुपैयाँको पाइपलाइनमा छ ।
पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अनुसार चालु आर्थिक वर्षको फागुन ७ गतेसम्ममा ११ अर्ब ५८ करोड ८८ लाख ७२ हजार रुपैयाँ बराबरको आईपीओ स्वीकृत भएको छ । यसरी बोर्डबाट आईपीओ जारी गर्न स्वीकृति पाएका कम्पनीहरुले सर्वसधारणलाई विक्री पनि गरिसकेका छन् ।
चालु आर्थिक वर्षमा आईपीओ जारी गर्न अनुमति पाएका १२ कम्पनीले विक्री गरिसकेका छन् । बोर्डका अनुसार रिलायन्स लाइफ इन्स्योरेन्स, समाज लघुवित्त वित्तीय संस्था, जनरल इन्स्यारेन्स, सानिमा जनरल इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, नेपाल इन्फ्रास्टक्चर बैंक, प्रभु लाइफ इन्स्योरेन्स, सिंगटी हाइड्रो इनर्जी, ग्रिन लाइफ हाइड्रोपावर, महिला लघुवित्त वित्तीय संस्था, रुरु जलविद्युत परियोजना र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरिसकेका छन् । यी कम्पनीले ११ करोड ५८ लाख ८८ हजार ७ सय कित्ता आईपीओ जारी गरेका हुन् ।
यस्तै, ९ कम्पनीले २ अर्ब ९४ करोड ९ लाख ७४ हजार रुपैयाँ बराबरका आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिएका कम्पनीको बोर्डले प्रारम्भिक अध्ययन गरिरहेको छ ।
बोर्डमा प्रारम्भिक अध्ययनको चरणमा रहेका कम्पनीहरुमा साहस उर्जा, सामलिङ पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर्स र अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी रहेका छन् ।
बोर्डका अनुसार हिमालयन हाड्रोपावर र डिश मिडिया नेटवर्कको गरी ४६ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको आईपीओ बोर्डले अध्ययन गरी सुधार गर्नुपर्ने विषय उल्लेख गरेर पठाइसकेको छ ।
आईपीओ जारी गर्नको लागि बोर्डमा निवेदन दिएका ५ कम्पनीले बोर्डले सुधार गर्न भनेका विषय सच्याएर तथा आवश्यक थप कागजात पेश गरिसकेका छन् । यी कम्पनीले २ अर्ब ४८ करोड ४ लाख ५१ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति मागेका हुन् । यसरी अनुमति माग्ने कम्पनीहरुमा मैलुङखोला जलविद्युत कम्पनी, मध्यभोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, सीईबीडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र विन्दवासिनी हाइड्रोपावर कम्पनी रहेका छन् ।
आईपीओ जारी गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएर विभिन्न चरणमा पुगेका कम्पनीहरु सबै अनुमति पाएर आईपीओ जारी गरेमा उनीहरुले ५ अर्ब ८८ करोड ५० लाख १८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछन् ।