
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी)को सेयरमा अन्धाधुन्ध लगानी गरेको ठहर गर्दै बीमा समितिले सञ्चालक दिपेन्द्र अग्रवाललाई निलम्बन गरेको छ । उसले कम्पनीलाई अर्को फरक पत्र पठाउँदै अनुशासनहीन र अनियमिततापूर्ण कार्यमा संलग्न लगानी विभागमा कार्यरत कर्मचारीलाई विभागीय कारवाही गर्न जीआईसीलाई निर्देशन दिएको छ ।
हाल लगानी विभागका सहायक महाप्रबन्धक निल बराली र अफिसर रंग साउद कार्यरत छन् । उनीहरु दुबै जनामाथि कारवाही हुने भएको छ ।
स्राेतका अनुसार यसअघि सो विभागको नेतृत्व विनेश मास्केले गरेका थिए । तर बीमा समितिले उनको बारेमा केही बोलेको छैन । त्यस्तै, लगानी उपसमितिका सदस्य रामचन्द्र खनाल र कम्पनीका तत्कालिन महाप्रबन्धक एस के टमोटबारे पनि बीमा समितिले काटेका ७ पृष्ठ लामो दुबै पत्रमा केही पनि उल्लेख छैन ।
बीमा समितिले लगानी विभागका कर्मचारीको १२ बुँदे गल्ती कमजोरी कोट्याउँदै उनीहरुलाई मात्र विभागीय कारवाही गर्न निर्देशन दिएको छ । उनीहरु माथि पनि सञ्चालक दिपेन्द्र अग्रवाललाई आर्थिक अनियमिता गर्न सहयोग गरेको आरोप छ ।
गत चैत २२ र २३ गते बीमा समितिले गरेको स्थालगत निरीक्षण प्रतिवेदनमा १३ वटा कैफियत जनाएको छ । जहाँ भएको आर्थिक अनियमिता सम्बन्धमा १० वटा अनुसूचि समेत तयार गरिएको छ ।
प्रतिवेदनमा ठूलो आर्थिक अनियमितता देखाइएको छ । तर त्यसबाट कम्पनीलाई भएको आर्थिक नोक्सानीबारे रिपोर्टमा उल्लेख गरिएको छैन ।
बीमकको लगानी निर्देशिनमा कुल टेक्निकल रिजर्भको १० प्रतिशत भन्दा कम नेप्सेमा सूचिकृत कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था विपरित टेक्निकल रिजर्भको १५५ प्रतिशतसम्म लगानी गरेको, कम्पनीको लगानी सम्बन्धि कमिटिको बैठक समेत नियमित नभएको, लगानी कमिटिको बैठक बसी निर्णय नै नगरी मनोमानी ढंगले लगानी भएको, लगानी सम्बन्धि उपसमिति र कम्पनीको सञ्चालक समितिले गरेको निर्णयका आधारमा मात्र लगानी गर्नु पर्नेमा त्यसो नगरिएको, संस्थागत सुशासन निर्देशिका विपरित बीमकले आफै संस्थापक सेयरधनी रहेका कम्पनीको साधारण सेयरमा लगानी गरेको, आफ्नो सेयर आफै खरिद गरेको, सेयर किनबेच गर्दा ब्रोकर कम्पनीसँगको कारोबार लामो समय फरफारक नगरेको लगायत १२ बुँदे त्रुटि बीमा समितिले औल्याएको छ ।
सम्बन्धित समाचार