काठमाडौं । साताको पहिलो दिन आज एभरेष्ट बैंकको करिब ११ लाख कित्ता सेयर खरिद विक्री भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज एभरेष्ट बैंकको १० लाख ८६ हजार ४ सय ५८ कित्ता सेयर ८७ करोड ६२ लाख ९९ हजार रुपैयाँमा खरिद विक्री भए ।
आज सबैभन्दा बढी कित्ता सेयर कारोबार भएको एभरेष्ट बैंकको नै हो । र, अझ रोचक त आज कारोबार भएको एभरेष्ट बैंकको सेयरमध्ये झण्डै आधा नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) बाट भएको छ ।
नासा सेक्युरिटिजले एभरेष्ट बैंकको २४ कारोबारबाट ५ लाख ५१ हजार २ सय ५९ कित्ता खरिद विक्री गरेको छ । सो सेयर ४४ करोड १३ लाख २६ हजार रुपैयाँमा कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
एकै दिन एभरेष्ट बैंकको धेरै कित्ता सेयर कारोबार भएपनि नेप्सेले यसलाई ‘सामान्य’ मानेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले एभरेष्टको आजको कारोबारलाई ‘सामान्य भएको’ प्रतिक्रिया दिए ।
एभरेष्ट बैंकको यति धेरै सेयर कसले बेच्यो भन्ने चर्चा बजारमा चलेको छ । स्रोतहरुले भने एभरेष्ट बैंकको संचालक समिति अध्यक्ष विके श्रेष्ठसँग सम्बन्धित व्यक्तिहरुले सेयर विक्री गरेको बताएका छन् ।
‘एभरेष्ट बैंकको प्रमोटरबाट साधारणमा परिणत भएको सेयरको कारोबार भएको हो, बैंकका अध्यक्ष विके श्रेष्ठ र उनको परिवारका व्यक्तिहरुले सेयर खरिद विक्री गरेका होइनन्, तर उनी सम्बद्ध व्यक्तिहरुले नै सेयर विक्री गरेको देखिएको छ,’ नेप्से स्रोतले भन्यो ।
विके श्रेष्ठ सम्बद्ध व्यक्तिहरुले ठूलो परिमाणमा सेयर विक्री गर्ने भएपछि ब्रोकर नम्बर ५८ ले सम्भावित विभिन्न व्यक्तिहरुलाई फोन गरेर सेयर किन्न आग्रह गरेको थियो । ब्रोकरको यस्तो आग्रहका कारण नै सो ब्रोकरबाट नै विक्री र खरिद भएको देखिएको हो । सो ब्रोकरले प्रतिकित्ता न्यूनतम ८ सय रुपैयाँदेखि अधिकतम ८२० रुपैयाँ सेयर खरिद गरेको देखिएको छ ।