बैंकको सेयर मूल्य बढाउने हतियार बन्यो ‘नबिलसँग मर्जर हुँदै’को हल्ला, आज उछालियो एनसीसी

<p>काठमाडौं । आज सेयर बजारमा भएको कुल कारोबारको १०.५३ प्रतिशत रकम बराबरको सेयर खरिद बिक्री नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) को मात्रै भएको छ । समग्र बजारमा कूल ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँको कारोबार भएकोमा एनसीसी बैंकको मात्रै ६२ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको [&hellip;]</p>

काठमाडौं । आज सेयर बजारमा भएको कुल कारोबारको १०.५३ प्रतिशत रकम बराबरको सेयर खरिद बिक्री नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) को मात्रै भएको छ । समग्र बजारमा कूल ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँको कारोबार भएकोमा एनसीसी बैंकको मात्रै ६२ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

एनसीसी बैंकको १८ लाख ४० हजार ९८० कित्ता सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी सुमेरु सेक्युरिटी अर्थात ३९ नम्बर ब्रोकरबाट खरिद भएको छ । उक्त ब्रोकरमार्फत मात्रै २६ करोड ७८ लाख २३ हजार रुपैयाँ बराबरको ७ लाख ९० हजार ३६६ कित्ता सेयर खरिद भएको छ ।

त्यस्तै, श्वेता सेक्युरिटीज अर्थात २५ नम्बर ब्रोकरबाट १ लाख ८९९ कित्ता सेयर खरिद भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ ।

बैंककाे काराेबार रकमसँगसँगै सेयर मूल्यमा पनि उछाल देखिएकाे छ । बिहीबारकाे बजारमा बैंककाे सेयर मूल्यमा एकाएक सकारात्मक सर्किट लागेकाे छ । बैंकको सेयर मूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३४६ रूपैयाँमा अन्तिम काराेबार भएकाे छ । जुन अघिल्लाे काराेबारकाे तुलनामा प्रतिकित्ता ३१ रूपैयाँले बढी हाे ।

आज बजारमा एनसीसी बैंकको सेयर एकाएक किन आकर्षणको केन्द्र बन्यो ? नबिल बैंकसँग एनसीसी बैंक मर्ज हुन लागेको हल्ला फेरि फैलिएपछि एनसीसी बैंकको सेयरमा आकर्षण बढेको एक लगानीकर्ताले बताए ।

‘नबिल बैंकसँग एनसीसी बैंक मर्ज हुन लागेको हल्ला आज फेरि फैलियो, यही हल्लाको कारण एनसीसीको सेयर कारोबार पनि बढी भयो भने मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढेर सर्किट लाग्यो,’ एक लगानीकर्ताले भने ।

अर्का एक लगानीकर्ता भने पछिल्लो समय कुनै पनि बैंकको सेयर मूल्य बढाउन नबिल बैंकसँग मर्ज हुन लागेको हल्ला चलाउन थालिएको बताउँछन् ।

‘कसैलाई कुनै बैंकको सेयर मूल्य बढाउनु पर्ने भयो भने फलानो बैंक नबिल बैंकसँग मर्ज हुन लागेको छ भन्ने हल्ला फैलाउन थालिएको छ, नबिलले कुनै एउटा बैंकसँग मर्ज नगरुन्जेल यस्तो प्रबृत्ति देखिने भयो, पछिल्लो समय नबिल बैंक अरु बैंकको सेयर मूल्य बढाउन वा घटाउनको लागि बजारमा चलखेल गर्ने हतियार जस्तै बनेको देखिन्छ,’ अर्का एक लगानीकर्ताले भने ।

यद्यपि, नबिल बैंकले औपचारिक रुपमा कुनै बैंकसँग मर्जर गर्न वा नगर्न लागेको केही बताएको छैन । नबिल बैंकसँग कहिले एनबी बैंक, कहिले एनसीसी बैंक, कहिले सिभिल बैंक त कहिले कुन बैंक मर्ज हुन लागेको हल्ला पछिल्लो समय व्यापक रुपमा बढ्न थालेको छ ।

Share News