काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले आगामी जेठ २८ गते २७औं वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको थापागाँउस्थित कम्पनीको केन्द्रिय कार्यालयमा भर्च्युअल माध्यमबाट सभा गर्ने भएको हो ।
उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सको जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म सेयर कारोबार बन्द हुने छ ।
सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । समितिले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ । ३ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।
साथै, सभाले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रक्रियाको लागि पनि उपयुक्त कम्पनी छनोट गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने भएको छ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने छ ।