काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा पहिलो दिन १ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार पहिलो दिन साँझसम्म आयोजना प्रभावित र जिल्लाका स्थानिय वासिन्दा गरी कूल ६०७ जनाले कम्पनीको एक लाख ३० हजार २८० कित्ता सेयर माग गरेका हुन् ।
जसमध्ये आयोजना प्रभावितका ६४ जनाले कम्पनीको २० हजार ३ सय कित्ता अर्थात २० लाख ३० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । त्यस्तै, ५३७ जना जिल्लाका स्थानिय वासिन्दाले एक लाख ९ हजार ९८० कित्ता अर्थात १ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर माग गरेका हुन् ।
कम्पनीले आज (बैशाख २१ गतेदेखि) आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दालाई गरी कूल ६० करोड रुपैयाँ बराबरको सेयरको बिक्री खुला गरेको हो । अंकित मूल्य १०० रुपैयाँ दरका ६० लाख कित्ता साधारण सेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं.१ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । र , बाँकी रहेको ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
यससँगै, आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दाले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन पाउने छन् । इच्छुकले न्यूनतम १० कित्ता र अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था रहेको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । त्यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल रहेका छन् ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
सम्बन्धित समाचारः