काठमाडाैं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि जारी गरिरहेकाे प्राथमिक सेयर (आईपीओ)काे निष्काशन तथा बिक्री खुला स्थगित भएकाे छ । उक्त जिल्लामा आज अर्थात बैशाख २३ गतेदेखि निषेधाज्ञा जारी भएसँगै सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले उक्त सेयरकाे बिक्री हालकाे लागि स्थगित गरेकाे हाे ।
क्यापिटलका अनुसार उक्त आईपीओ अब अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरिने छ । साथै, परिस्थिति सहज भएपछि पुनः अर्को सूचना प्रकाशित गरी उक्त सेयरको बिक्री खुल्ला गरिने क्यापिटलले जानकारी गराएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बैशाख २२ गतेको एक प्रेस विज्ञप्ति मार्फत कोभिड-१९ को संक्रमण रोकथाम एवं नियन्त्रणको लागि बैशाख २३ गतेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हाे ।
कम्पनीले गत बैशाख २१ गतेदेखि आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दालाई गरी कूल ६० करोड रुपैयाँ बराबरको सेयरको बिक्री खुला गरेको थियाे । अंकित मूल्य १०० रुपैयाँ दरका ६० लाख कित्ता साधारण सेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं.१ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । र , बाँकी रहेको ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा सेयर निष्काशन तथा बिक्री खुला गरेकाे थियाे ।
यससँगै, आयोजना प्रभावित तथा जिल्लाका स्थानिय वासिन्दाले न्यूनतम १० कित्ता र अधिकतमा ४०० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था थियाे ।