काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को नया भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको सुरु गरेको छ ।
महासंघले यस अभियान अन्तर्गत पहिलो कार्यक्रमको रूपमा आजबाट हेल्लो डाक्टरको सुरु गरेकाे हाे । यस अभियान अन्तरगत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा रहेकाे महासंघले जनाएकाे छ ।
यस अभियान अन्तर्गत डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् । हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिने कार्य भोली वैशाख २६ गते आइतवारबाट शुरु हुने छ ।
कोभिड संक्रमित भई घर वा आइशोलेशनमा बसका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाई भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्नेछन् । हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने महासंघले जनाएकाे छ ।
महासंघकाे अनुसार यस सेवाकाे लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ ।
बिरामीले याे सेवा लिनकाे लागि नाम दर्ता गर्न २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ । तत्पश्चात डाक्टरहरूले भिडियो कल मार्फत विरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् ।