काठमाडौं । बैशाख २३ गते निजी क्षेत्रका प्रतिनिधिमुलक र ठूला संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गरी बजारमा कुनै पनि प्रकारको वस्तु तथा सेवाको कृत्रिम अभाव सिर्जना गरी कालोबजार नगर्न नगराउन सम्बद्ध सबैलाई आग्रह गरे ।
कोभिड–१९ को उपचारमा महत्वपूर्ण तर हाल पर्याप्त मात्रामा उपलब्ध हुन नसकिरहेको अक्सिजन प्रयोग गरिरहेका सम्पूर्ण उद्योगहरुलाई आपूmसँग मौज्दात रहेको सिलिन्डर यथासिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन ती संस्थाहरुले अपील गरेका थिए ।
‘सम्पूर्ण ग्यास उत्पादक कम्पनीहरुलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपील गर्दछौ । यस परिस्थितिमा आम उपभोक्ताहरुलाई पनि आप्mनो जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढि सिलिन्डिर संचिति नगरि दिन हुन आग्रह गर्दछौ । यसैगरि अन्य व्यवसायीहरुसँग यदि सिलिन्डर छन भने त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरि सम्बन्धित निकायमा उपलब्ध गराइदिन हुन अनुरोध गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
संयुक्त विज्ञप्तिमा अत्यावश्यकीय खाद्य सामाग्रीको संचिति र त्यसमा मुल्यवृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोप्रति पनि आफूहरुको ध्यानाकर्षण भएको उल्लेख छ । माहामारीको बिषम परिस्थितिमा कुनै पनि प्रकारको संचिति र मुल्य वृद्धि नगर्न महासंघ, परिसंघ र चेम्बरले सम्वद्ध सबै व्यवसायीहरुमा अपील गरेका छन् ।
यस्तै, केही निजी अस्पतालहरुले बिषम परिस्थितिमा चर्को शुल्क लिई उपचार गरिरहेको भन्ने समाचार तर्पm पनि आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । ‘बिरामीहरुको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरु मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल वन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्ने तर्पm लाग्नु हुने छैन भन्ने पनि हामीले विश्वास लिएका छौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
‘हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु जिम्मेवार व्यवसायमा विश्वास गर्छौं, र बजारमा हुने कुनै पनि प्रकारको अनैतिक गतिविधिको निन्दा भत्र्सना र विरोध गर्दछौं । चरम संकटका बेला जिम्मेवार व्यवसाय प्रवद्र्धन गर्न एवं गैरप्रतिष्पर्धात्मक र अनैतिक व्यवसायमा संलग्नमाथि कारवाही गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श सरकारको साथमा रहेको जानकारी पनि गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
तर, बैशाख २५ गते नेपाल चिकित्सक संघले अर्काे एक विज्ञप्ति जारी गर्यो । संघले जारी गरेको विज्ञप्तिमा अस्पतालहरुमा अक्सिजनको कमी भएर कोभिड संक्रमणबाट सिकिस्त भएका विरामीको उपचारमा कठिनाई उत्पन्न भएको भन्दै सहज रुपमा अक्सिजन आपूर्तिको व्यवस्था मिलाइदिन सम्बद्ध पक्षलाई आग्रह गरिएको छ । चिकित्सक संघको यो विज्ञप्तिलाई आधार मान्दा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शको अग्रह विपरित अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको देखिन्छ ।
यस्तै, बैशाख २७ गते वायुसेवा संचालकहरुको संस्था वायुसेवा संचालक संघले एक विज्ञप्ति प्रकाशित गर्यो । संघले विज्ञप्ति जारी गर्नुको कारण केही दिनयता कोभिड संक्रमणबाट सिकिस्त विरामी परेका व्यक्तिहरुको उद्धारमा हेलिकप्टर कम्पनीहरुले बढी रकम असुल गरे भन्ने सन्दर्भमा स्पष्ट पार्नु थियो ।
वायुसेवा संघले कोभिड विरामीको उद्धारमा बढी भाडा लिएको भन्ने आरोपको सोझै अस्वीकार गरेको छ ।
‘यस संघद्वारा ३ वर्ष अगाडी नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको एएस ३५० हेलिकप्टरहरुको युएस डलर १५०० प्रतिघण्टा एवं रोविन्सन्स हेलिकप्टरहरुको युएस डलर १००० प्रतिघण्टा दरभाउमा हाल पनि उडान गर्दै आई रहेको आम जनमानसमा जानकारी गराउदै हाल सो दरभन्दा पनि कममा उडान गरि रहेका छौं । यहाँहरुमा विदितै छ कोभिड उद्धार उडानको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रोटाकल एवं स्वास्थ्य मन्त्रालयवाट जारी मापदण्ड अनुसार उडान गर्नु पर्ने हुँदा सम्पुर्ण उडानमा खटिने पाइलट लगायत कर्मचारीहरुका लागि पिपिई सेट, प्यारामेडिकल टोली, सेमी भेन्लिटर मसिन, थप बीमा, प्रत्येक उडान पश्चात हेलिकप्टरको सेनिटाइजेशन, किटाणुशोधन (डिसइन्फेक्सन) लगायत अन्य सामग्री समेत प्रयोग हुने साथै मेडिकल टोलीको प्रयोग गनै पर्ने हुँदा अन्य उडानमा भन्दा उडान समय समेत वढी लाग्ने र कोभिड उद्धार उडान गर्दा प्रतिउडानमा १ लाख ५० हजारभन्दा थप वढी खर्च आउने गर्छ,’ वायुसेवा संचालक संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय खानेतेलको मूल्य असाध्यै बढेको छ । यस्तै, चिनीको मूल्य प्रतिकेजी ८ रुपैयाँसम्मले बढिसकेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श यो महामारीको बेलामा अत्यावश्यक वस्तुको मूल्य बढाउनु हुँदैन, बढाउनेलाई कारबाही गर्नुपर्छ भनिरहेका छन् । तर, मूल्य बढेकै छ ।
यसैगरी यो महामारीमा सामाजिक संजाल मात्रै होइन, केही संचार माध्यमहरुमा पनि गलत र भ्रामक विषयहरु समाचार जस्तै गरी आइरहेका छन् । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ र नियामक निकाय प्रेस काउन्सिल सत्य तथ्य समाचार मात्रै प्रवाह गर्न आग्रह गरिरहेका छन् । तर, भ्रामक र तथ्यहिन सामग्रीहरु समाचारभन्दा बढी ‘भाइरल’ भइरहेका छन् ।
सबै ‘इन्स्टिच्युसन’ असफल भएकै हुन् ?
आफै आवद्ध संघ संस्थाहरुको आग्रह र मान्यता विपरित, आफ्नै नियामक निकायले गरेको व्यवस्था उल्लघन गरी गतिविधि हुनुले नेपालका सबै ‘इन्स्टिच्युसन’ असफल भएका हुन् त भन्ने संकेत गरेको छ ।
तर, पूर्वअर्थ सचिव रामेश्वर खनाल कोभिड महामारीको बेलामा अन्य देशमा पनि यो प्रकारका हर्कत देखापरेको बताउँछन् । तर, अहिलेसम्मको अवस्था हेर्दा नेपालका सबै इन्स्टिच्युसन असफल भएको भन्ने भन्दा पनि राजनीतिक नेतृत्वले गलत गर्नलाई संरक्षण गरिदिदा समस्या उत्पन्न भएको उनको भनाई छ ।
‘हाम्रोमा भन्दा पनि कडा कानुनी व्यवस्था र प्रभावकारी कार्यान्वयन रहेको भनिएको चीनमा पनि कोरोना विरुद्धको नक्कली खोप बनाएर विक्री गर्ने व्यक्ति फेला परेका थिए, अरु देशमा पनि अवाञ्छित गतिविधि भएका समाचार सार्वजनिक भएका छन्, हाम्रो देशमा पनि गलत क्रियाकलाप भएका छन्, यसमा फरक के छ भने अन्य देशले गलत गर्नेलाई कारबाही गरेका छन्, हाम्रो देशमा राजनीतिक संरक्षणको कारण गलत गर्नेहरुमाथि अनुन्धान र कारवाही गर्ने निकायले अनुसन्धान र कारवाही गर्न पाएको छैन, फरक यत्ति हो,’ खनालले भने ।
उनले कोभिड विरुद्धको खोप प्रकरणलाई उदाहरणको रुपमा प्रस्तुत गरे ।
‘हाम्रो स्वास्थ्यमन्त्रीले सार्वजनिक रुपमै के भन्नु भयो भने कमिसन नपाउने भएपछि विचौलिया सक्रिय भए, त्यसैकारण समयमै खोप ल्याउन सकिएन तर, प्रधानमन्त्रीले यो कुरा सिधै अस्वीकार गर्दै यो वकबास हो भनिदिनुभयो, स्वास्थ्यमन्त्रीले भन्नुभएको कुरा सही थियो कि थिएन भनेर अनुसन्धान र कारबाही गर्ने निकायले कामै गर्न पाएन, त्यसै हराएर जाने अवस्था सिर्जना भयो,’ पूर्व अर्थसचिव खनालले भने ।