काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सबै बीमा कम्पनीहरुलाई शाखा कार्यालय बन्द गराउन परिपत्र गरेको छ । कोभिड महामारी अनियन्त्रित रुपमा बढेपछि नियन्त्रण तथा रोकथामका लागि मानवीय आवागमन कम गर्न यस्तो निर्णय गरिएको हो ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बीमा कम्पनीहरुले प्रदान गर्ने सेवा जेठ १३ गतेसम्म स्थगित गर्ने निर्णय गरेपछि सोको कार्यान्वयनका लागि समितिले परिपत्र जारी गरेको हो । यस्तै अन्य ७० भन्दा बढी जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको निर्णयका आधारमा निषेधाज्ञा जारी गरिएको छ ।
बीमा सेवा जेठ १३ गतेसम्म स्थगित गर्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को निर्णय अनुसार बीम कम्पनीहरुलाई शाखा कार्यालय बन्द गराउन र कर्पाेरेट कार्यालयहरुमा सिमित कर्मचारी मात्रै बोलाउन पत्र पठाउन लागिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
‘डीसीएमसीले जेठ १३ गतेसम्मको लागि बीमा सेवा स्थगन गर्ने निर्णय गरेको छ, कोभिड संक्रमणको अवस्था भयावह भएको अहिलेको समयमा बीमा कम्पनीहरुले सबै शाखा कार्यालय बन्द गर्नु नै उचित हुन्छ, त्यसैले जेठ १३ गतेसम्म शाखा कार्यालयहरु बन्द गर्न र कर्पाेरेट कार्यालयहरुले गर्नै पर्ने अतिआवश्यक कामको लागि सिमित कर्मचारी मात्रै बोलाएर काम गर्न गराउन पत्राचार गर्दैछौं,’ कार्यकारी निर्देशक पौडेलले भने ।
कोभिड महामारीको दोस्रो लहर सुरु भएसँगै प्रमुख जिल्ला अधिकारीहरुको निर्णयले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यका सहित देशभरका अधिकांश प्रमुख शहरहरुमा निषेधाज्ञा जारी गरिएको छ । यस्तो निषेधाज्ञा बढाएर अहिले ७० भन्दा बढी जिल्लामा आंशिक तथा पूर्ण क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । संक्रमण अनियन्त्रित रुपमा बढ्दै गएको कारण निषेधाज्ञाको समय बढाएर जेठ १३ गतेसम्म पुर्याइएको छ ।
यसअघि एक चौथाई कर्मचारी बोलाएर बीमा सेवा संचालन गर्नुपर्ने व्यवस्था थियो । तोकिएभन्दा बढी कर्मचारी बोलाए कारबाही गर्ने भन्दै प्रशासनले अनुगमन समेत गरेको थियो । अब भने बीमा सेवा ठप्प भएको छ ।
सम्बन्धित समाचार