राजनीतिक भंगालोलाई सेयर बजारको ‘इग्नोर’, आगामी यात्रा कस्तो रहला ?

<p>काठमाडौं । विश्व महामारीका रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण तीव्र रूपमा फैलिरहेकाे छ । नेपालमा पनि दिनप्रतिदिन काेराेना संक्रमितकाे संख्या बढ्ने मात्र हाेइन मृत्यु हुनेहरू पनि पहिलेकाे तुलनामा ग्राफ निकै माथि पुगेकाे देखिन्छ । पहिलाे लहरकाे काेराेनाभन्दा दोश्रो लहरको कोरोना झन भयावह भएकाे स्वास्थ्यविज्ञहरू बताउँदै आएका छन् । काेराेनाकै  कारण देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा छ । आर्थिक [&hellip;]</p>

काठमाडौं । विश्व महामारीका रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण तीव्र रूपमा फैलिरहेकाे छ । नेपालमा पनि दिनप्रतिदिन काेराेना संक्रमितकाे संख्या बढ्ने मात्र हाेइन मृत्यु हुनेहरू पनि पहिलेकाे तुलनामा ग्राफ निकै माथि पुगेकाे देखिन्छ । पहिलाे लहरकाे काेराेनाभन्दा दोश्रो लहरको कोरोना झन भयावह भएकाे स्वास्थ्यविज्ञहरू बताउँदै आएका छन् ।

काेराेनाकै  कारण देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा छ । आर्थिक गतिविधि ठप्प छन् । तर, यही समयमा सेयर बजारमा भने दैनिक उछाल आएर नयाँ नयाँ उचाइमा पुगेकाे छ ।  बजारले छोटो अवधिमै एकपछि अर्को गर्दै नयाँ नयाँ रेकर्ड बनाइरहेकाे छ । गत मंगलबार (जेठ ४ गते) मात्रै उच्च अंकमा पुगेर नयाँ रेकर्ड राखेको बजारले पछिल्लो ३ कार्य दिनमै अर्थात आज (जेठ ९ गते) आइतबार अर्को नयाँ रेकर्ड राख्याे ।

कारोबार शुरु भएको केही बेरमा ५० अंकभन्दा बढी अंकले ओरालो लागेको आइतबारको बजार अन्ततः ३२.८१ अंकले बढेर २८२० बिन्दुमा पुगेर बन्द भयो । जनु नेपाली पुँजीबजारको इतिहासमै उच्च बिन्दु हो । त्यस्तै, सोहि दिन कारोबार रकममा पनि दोश्रो सर्वाधिक कारोबार भएको छ । बजारमा एकैदिन ११ अर्ब ६९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत जेठ ५ गते मात्रै हालसम्मकै उच्च कारोबार अर्थात ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

एकातिर कोराेनाले थलिएको देश । त्यहिमाथि गत शुक्रबार(जेठ ७ गते) मात्रै पुनः संसद विघटन भयो । सरकारले मध्यरातमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ गते र मंसिर ३ गते नयाँ निर्वाचनका लागि मिति समेत तोकिसकेको छ ।

कोरोनाकै कारण आर्थिक गतिविधि ठप्प, देशको अर्थतन्त्रको ओरालो यात्रा र बैंकिङ उद्योग पनि समस्यामा पर्न सक्ने अनुमान विभिन्न अर्थविदहरुले गरिरहँदा सेयर बजारमा यो चमक तथा उछाल कसरी सम्भव भयो ? राजनीतिक उतारचढावसँगै अबको अर्थतन्त्र के होला ? पहिलो संसद विघटन भएपछि नकारात्मक प्रभाव देखिएको बजारमा पुनः दोश्रो पटक संसद विघटन भएसँगै अब के होला ? त्यसको असर बजारमा कस्तो पर्ला  ? लगायतका  यी विविध प्रश्नहरूकाे उत्तर भने समयले दिनेछ नै ।

तर, पुँजीबजारका लगानीकर्ताहरु पनि अहिलेको अवस्थामा बजारमा राजनीतिक असर नपर्ने बताउँछन् । दोश्रो पटकको संसद विघटनपछि पहिलो दिन खुलेको बजारले संसद भंगको असर बजारमा खासै नपर्ने हो की भन्ने पनि देखाइसकेकाे छ ।

अबको बजार कता जाला ?

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि बजारमा लगानीकर्ता डराइहाल्नु पर्ने अवस्था नरहेको बताउँछिन् । भलै कारोबारीले राजनीतिक अस्तव्यस्ततालाई माध्यम बनाएर चलखेल गरे भने मात्रै तर दीर्घकालीन रुपमा हेर्ने हो भने बजार घट्ने ठाउँ नभएको उनकाे तर्क छ ।

‘अहिले राजनीतिक अस्तव्यस्थता छ, यो अवस्थामा लगानीकर्तालाई के होला कस्ताे होला भन्ने अन्यौलता छाएको मात्रै हो, अहिले नै डराइहाल्ने अवस्था भने छ जस्तो लाग्दैन, कारोबारीहरुले पनि राजनीतिक अस्तव्यस्थतालाई माध्यम बनाएर चलखेल गर्न सक्छन्त, र लगानीकर्ता आत्तिनु हुँदैन,’ उनले भनिन् ।

अहिले अहिले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताका लागि राम्राे वातावरण बनेको छ । लगानीकर्तालाई अहिले उपयोगी नै भएको छ । बजार बढेर दैनिक जसो रेकर्ड ब्रेक गरिरहेको छ । लगानीकर्ताहरुकाे संख्या पनि बढ्दै गएकाे छ । त्यसैले पनि सेयर बजारलाई थप उचाईमा पुग्न सफल भएको धेरैकाे तर्क छ ।

सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल पनि बजारमा अहिलेको राजनीतिले खासै असर नगर्ने बताउँछन् । ‘अहिलेको बजारमा राजनीतिले खासै असर गर्दैन, घटिहाल्यो भने पनि अब केही दिन घटेर करेक्सन होला तर त्यस्तो आत्तिनु पर्ने गरी गिरावट भने आउँदैन,’ उनले भने ।

सरकारले घोषणा गरेको मितिमा मध्यावधी चुनाव भयो भने बजारलाई झन् बढ्नलाई टेवा पुग्ने उनकाे भनाई छ । ‘अहिले लगानी गर्नको लागि अन्य क्षेत्रहरु छैनन्, ब्याजदर बढ्दैन, रेमिट्यान्स सोचे जस्तो राम्रै आइरहेकाे छ, चुनावी सरकार हुने भयो भने झन् यतिकै राम्रो हुन्छ । सरकारसँगै निजी क्षेत्रले पनि रकम खर्च गर्छन्, उम्मेदवारले पनि खर्च गर्छन्, जसले गर्दा लुकेर बसेका पैसाहरु बजारमा निस्किन्छन्, र बैंकमा तरलता बढ्छ, तरलता बढेपछि ब्याजदर बढ्दैन, ब्याजदर नबढेपछि सेयर बजारलाई सकेसम्म असर गर्दैन ,’ उनले भने ।

त्यस्तै, अहिले बेच्ने भन्दा किन्ने लगानीकर्ता बढी भएकोले बजार बढेको उनको भनाई छ । उनी भन्छन्, ‘अहिलेको बजार पहिलेको जस्तो छैन । लगानीकर्ता सबैको हातमा आफ्नो अधिकार छ । उनीहरुले त्यो अधिकार प्रयोग गर्छन् । बजारमा इन्ट्राडे करेक्सन हुन थालिसक्यो । यसको मतलब भाउँ घट्छ घट्छ भनेर भाउ घट्यो भने पनि तल्लो भाउमा किन्ने लगानीकर्ताहरु जति पनि छन् । जसलाई कारोबारको रकमले सर्पोट गर्यो । दिनको करिब १२ अर्ब करोबार हुने भएपछि लगानीकर्ताले जति बेच्यो, त्यति बजारले खाईदिँदै छ । बेच्ने जति छन् त्यो भन्दा बढी किन्ने लगानीकर्ता भएकोले बजार बढेको न हो । आज ५ लाख कित्ता बेच्छु भनेर आयो भने पनि बजारले खाईदिन्छ । यसको मतलब बजार त्यो हिसाबले बढी सक्यो । त्यसमाथि विदेशमा बस्ने नेपालीहरुको प्रवेश भएको छ, जसले सोचबुझ गरेरै लगानी गरेका हुन्छन् । त्यसैले, तत्काललाई बजारमा डराउनुपर्ने स्थिति छैन ।’

बजार बढेपनि सुरक्षित क्षेत्र मानिने बैंकिङ्ग क्षेत्रका कम्पनीको सेयर मूल्य नबढेकोमा उनी दुःख व्यक्त गर्छन् । अहिले डिमाण्ड र सप्लाईले नै बजारलाई कन्ट्रोल गरिरहेकोले पनि वाणिज्य बैंकहरुको सेयर मूल्य नबढेको उनले बताए ।

‘अहिले सुरक्षित रुपमा लगानी गर्ने भनेको बैंकिङ्ग सेक्टर नै थियो । तर दुःखका साथ भन्नु पर्छ बजारले दैनिक नयाँ उचाईमा पुग्न सफल भएपनि बैंकिङ्ग क्षेत्रको सेयर मूल्य बढ्न सकेका छैन । पछिल्लो समय लगानीकर्ताको आकर्षण कहिले लघुवित्त, कहिले हाइड्रो, कहिले इन्स्योरेन्स तिर गएको छ । यो भनेको अहिले डिमाण्ड र सप्लाईले नै बजारलाई कन्ट्रोल गरिरहेको छ । जसले अहिले पनि बजारमा अध्ययन गरेर राम्रो कम्पनीहरुको सेयर किनौं भन्ने लगानीकर्ताको कमी रहेको छ । र, हावा जता चल्छ त्यतै लगानीकर्ता लागिरहेका छन् भन्ने अहिलेको बजारले बुझिन्छ ।’

लगानीकर्तालाई सुझाव 

सरकार चुनावमा लागे पनि वा राजनीति अस्तव्यस्त भए पनि अहिलेको बजारमा खासै असर नपर्ने भन्दै अर्यालले लगानीकर्तालाई नआत्तिई, आफ्नो स्वाविवेक प्रयोग गरेर लगानी गर्न सल्लाह दिन्छन् ।

‘चुनावको हल्लाले अब कस्तो सरकार आउला के होला भन्ने लगानीकर्तामा अन्यौलता होला । तर त्यसमा डराउनु पर्ने केही छैन । त्यसमा पनि अब तीन वर्षपछि गर्नुपर्ने चुनाव भएको भए पनि ओहो धेरै लामो समय थियो । बर्बाद हुने भन्यो भन्न हुन्थ्यो । तर अब एक वर्षमा त गर्नु नै थियो, जुन ६ महिनाअघि हुन लागेको त हो । ६ महिना ढिलो चाँडो हुनु स्वभाविक नै हो,’ उनले प्रष्ट्याउँदै भने ।

‘हाल कम्युनिष्टको सरकारको थियो, भोलि चुनाव भएपछि डेमेक्रयाटिक सरकार आउन सक्छ की भन्ने आशा पनि हुन्छ मान्छेलाई । अर्को, बजारमा पैसाको तरलता बढ्छ । र, लोकतन्त्र जीवन्त हुन्छ । यसले गर्दा लगानीकर्ता डराउनु पर्दैन । एकदमै नआत्ति, स्वाविवेक प्रयोग गरेर लगानी गर्न सक्नु हुने छ,’ थप सुझाउँदै उनले भने ।

उता लगानीकर्ता संघकी अध्यक्ष पोखरेल भने कुनै कम्पनीको सेयर मूल्यमा सर्किट लाग्यो भन्दैमा त्यस कम्पनीमा सिँधै हाम नफाल्न लगानीकर्तालाई आग्रह गर्छिन् ।

‘यो अवस्थामा लगानीकर्ताले राम्रा राम्रा कम्पनीमा जोखिम हेरेर लगानी गर्नु पर्यो । बजार बढेको छ, परिसूचक बढेको छ । कम्पनीको सेयर मूल्यमा निरन्तर रुपमा सर्किट लागेको छ भनेर त्यहि कम्पनी लिनु भएन । भोलि बजार केही गरी घट्न सक्ला, यस्ता विभिन्न बाधा आउन सक्छन् । त्यसलाई पनि जोखिम बहन गर्न सक्ने गरी लगानी गर्नुपर्यो । र, होल्ड गर्न सक्ने क्षमता हुनुपर्यो । बजार घट्यो भन्दैमा आत्तिएर फाल्नुभएन ।’, उनले भनिन् ।

Share News